भैरहवा : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरू निकम्मा बनाइएको र नेतृत्वहरू पनि नैतिक सङ्कटमा परेको टिप्पणी गरेका छन् । उनले देश पछिल्लो समय सही तवरले नचलेको र ठुलो खतराको सङ्केत देखिसकेको बताएका हुन् । आज (शनिबार) अग्रगामी मोर्चाको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका मुख्य पिलरहरू नै प्यारालाईज बनाइएको र देशलाई असफल राष्ट्र बनाउन खोजिएको टिप्पणी गरेका हुन् । सरकार, संसद् र सेनाबिच समन्वय नहुँदा देशको राष्ट्रियतामाथि नै खतरा उत्पन्न भएको उनको भनाइ छ ।
सो क्रममा उनले हिजो मात्रै केही सञ्चार गृहमा सादा पोसाकमा प्रहरी पठाएर आतङ्क सिर्जना गरिएको र केही पत्रकारहरूमाथि भएको धरपकडको निन्दा गरेका छन् । उनले रास्वपा भित्रको घर झगडाको कारण पत्रकारहरूलाई पक्राउ गरिएको दाबी गरे ।आजपा अध्यक्ष साहले भने, ‘हिजो पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घर झगडा उदाङ्गो भयो, पत्रकार पक्राउ गरिएको घट्नाबारे प्रधानमन्त्रीलाई जानकारी नभएको भनिएको छ, अनि देश कसले चलाएको छ त ? प्रधानमन्त्रीमा वालेन्द्र शाह हुनुहुन्छ, अनि उहाँलाई थाहा नहुने तर राज्यमा आतङ्क मच्चाइएको छ, थाहा कसलाई छ ? रवि लामिछानेलाई ? कि कसलाई छ ?’
उनले गृह प्रशासन अस्तव्यस्त हुनु, प्रहरी नेतृत्वमाथि निरन्तर परेको दबाब र पत्रकारहरु माथिको धरपकडको घटना बाहिरिएको अवस्थामा गृहमन्त्री सुधन गुरुङको कुनै सक्रियता र प्रतिक्रिया नआउनु आश्चर्यको विषय भएको बताए ।पूर्वमन्त्री साहले न्याय निरूपणको जिम्मा पाएको न्यायालयमा त्यस्तै चरम सङ्कट देखिएको र एकपछि अर्को गरेर न्यायमूर्तिहरू विवादमा मुछिएको समाचार आउनु अर्को दुःखद पक्ष भएको उल्लेख गरे ।
उनले नेपालको सुरक्षा निकाय लिकबाहिर गइसकेको र यसका नेतृत्वकर्ताहरू मूल कर्म बिर्सिएर राजनीति गरिरहेको दाबी गरे । नागरिकको जिउधनको सुरक्षा र प्रत्याभूति दिलाउने जिम्मा पाएको प्रहरी प्रशासनलाई प्रहार गरिएको र देश रक्षाको जिम्मा पाएको सेनाले राजनीतिमा अतिरिक्त चासो देखाएको भन्दै उनले यसप्रति देशभक्त नेपालीहरूले चिन्ता गर्नुपर्ने बेला आएको पनि साहले उल्लेख गरे ।उनले देशका मुख्य दलहरू विघटनतर्फ उन्मुख रहेको बताए । उनले भने, ‘अहिले मुख्य दलहरू आन्तरिक सङ्कटमा छन्, कांग्रेसको कलह, एमालेको झमेला, नेकपामा झगडा व्यापक छ । अहिले अग्रगामी मोर्चा देशलाई सही निकास दिनको लागि विकल्प बनिसकेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij