काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले जित निकालेको छ।रोमाञ्चक खेलमा विराटनगर दुई रनले विजयी भएको हो। विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा समेटियो। विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे। ओपनर सेहान जयसुरिया तीन बलमा मात्र एक रन जोडेर पेभेलियन फर्किँदा लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतक बनाएका थिए।बमले ४० बलमा ५०, शेखले ४५ बलमा ५६ र रसेलले २९ बलमा अविजित ५२ रनको योगदान गरे। बमले तीन चौका र तीन छक्का, शेखले पाँच चौका र दुई छक्का तथा रसेलले दुई चौका र पाँच छक्का प्रहार गरे। शुभम रन्जनेले पाँच बलमा अविजित सात रन बनाए।
पहिले बलिङ गर्ने निर्णय गरेको जनकपुरका लागि अभिशेख तिवारीले दुई तथा मोइन अलिले एक विकेट निकाल्दा अन्य खेलाडी विकेटविहीन रहे। बलिङमा जनकपुरका जेम्स निसम महँगो साबित भए। उनले मात्र दुई ओभरमा २८ रन खर्चिए।जवाफी ब्याटिङ गर्ने क्रममा जनकपुरका सैफा हसनले अर्धशतक पूरा गर्दै ७१ रन जोडे पनि टालीको जितका लागि पर्याप्त भएन। ४८ बल सामना गरेका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। विशाल सुस्लिङ ४३, जेम्स निसम २७ र मोइन अलीले १० रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
विराटनगरका रसेल एक्लैले चार विकेट हात पारे। एन्जेलो म्याथ्युजले दुई तथा रूपेश सिंहले एक विकेट निकाले।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij