Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

गगन थापामाथि प्रहरी निगरानी बढेको दाबी, पक्राउको चर्चाले कांग्रेसमा तरंग

गगन थापामाथि प्रहरी निगरानी बढेको दाबी, पक्राउको चर्चाले कांग्रेसमा तरंग

काठमाडौं : सरकारले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहितका कांग्रेस नेताहरूलाई पक्राउ गर्ने तयारी गरेको छ ।बिचौलिया इनम सापकोटासँग गगनको कनेक्सन देखिएपछि पक्राउको तयारी भइरहेको स्रोतले बतायो । सभापति थापाको सचिवालयले पनि गगनमाथि सरकारले निगरानी बढाएको दाबी गरेको छ ।कांग्रेसको आधिकारिताको विवादमा फैसला आफ्नो पक्षमा पार्न गगन थापाले १८ करोडको डिल गरेको दाबी सहितको इनम सापकोटाको अडियो पनि चर्चामा छ । उक्त अडिओमा सभापति थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग उल्लेख छ ।

यता, सामाजिक अभियन्ता दुर्गा प्रसाईँले पनि गगन थापाले आधिकारिक कांग्रेसका लागि ५२ करोड खर्च गरेको सार्वजनिक रूपमै बताएका थिए । इनम प्रकरण सार्वजनिक नहुँदै प्रसाईँले गगनले अदालत, निर्वाचन आयोगलाई प्रभावमा पारेर आधिकारिक कांग्रेस प्राप्त गरेको दाबी गरेका थिए । कांग्रेसले भने उक्त आरोपलाई सरकारको षड्यन्त्र भन्दै आएको छ ।प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेसको आधिकारिकताबारे दिएको भनिएको बयान बालेनको सचिवालयको योजनामा सार्वजनिक गरिएको कांग्रेसको आरोप छ ।

सरकारले बुधवार मात्रै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आइजीपी नियुक्त गरेको छ । यससँगै थापामाथिको निगरानी थप कडा बनाइएको सभापति थापाको सचिवालयले बताउँछ ।सभापति थापा पछिल्लो समय प्रधानमन्त्री बालेनविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका थिए । पत्रकार पक्राउ प्रकरण लगायतका विषयमा सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएका थापामाथि सरकारले निगरानी बढाएको हो ।

कात्तिक १५ गते थापाले सरकारविरुद्ध अभिव्यक्ति दिएपछि थप निगरानी बढाइएको उनको सचिवालयको दाबी छ । प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमा एक–दुई जनालाई उम्किन नदिने चेतावनीसहितको स्टाटस लेखेका थिए ।‘सही समय आएपछि, सबैको गलत समय आउँछ’, शाहले लेखेका थिए, ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’त्यसको भोलिपल्ट सोमबार साँझ ६ बजे थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई जवाफ दिएका थिए । उनले लेखेका थिए, ‘अहिले ठिक १८ः०० बजेको छ, तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’

सरकारसँग नडराउने दाबी गरेका गगन भने भोलिपल्टै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न गुण्डु पुगेका थिए । गुण्डुमा सभापति थापाले ओलीसँग झण्डै एक घण्टा छलफल गरेका थिए । मधेस सरकारबारे निर्णय गर्न ओली–गगनबीच भेट भएको भनिएको छ । तर, गगन आफू पक्राउ पर्न लागेको सुइँको पाएपछि ओली भेट्न पुगेको बताइन्छ ।यसअघि ओलीसँग कुनै सहकार्य नगर्ने र भेट पनि नगर्ने बताउँदै आएका गगन आफू पक्राउ पर्न लागेको चर्चापछि अध्यक्ष ओलीलाई भेट्न बाध्य भएका हुन् । ओलीले पनि गगनसँग भेट भएको र भेटमा राजनीतिक कुरा भएको जवाफ दिएका छन् ।

गगनको निगरानीका लागि सरकारले एक डीएसपीको नेतृत्वमा रहेको प्रहरी टोली नै खटाएको छ । उक्त टोलीले गगनका गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको छ ।प्रधानमन्त्री बालेनको टिमले सभापति गगनसहितका केही नेताहरूलाई तिहार अघि नै पक्राउ गर्ने तयारी गरेका छ । त्यसकै लागि दानबहादुर कार्कीलाई हटाएर आफू निकट मनोज केसीलाई आइजीपी बनाइएको चर्चा छ । ‘आईजीपी फेरेसँगै अबका केही दिनमै केही मान्छे पक्राउ गर्ने देखिन्छ । बालेन टिमको लिस्टमा गगन थापा पनि छन्’, स्रोतले भन्यो ।

सरकारविरुद्ध आक्रामक बनिरहेका गगनलाई केही दिन भएपनि हिरासतमा राख्ने प्रधानमन्त्री बालेनको योजना छ । यता, सभापति नै पक्राउ पर्न लागेको चर्चासँगै कांग्रेस नेताहरूले पनि आन्तरिक रणनीति बनाइरहेका छन् । आज बिहीबार मात्रै कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक बस्दैछ ।कांग्रेस नेताहरूले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्रको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका छन् । पार्टीको आधिकारिकताबारे लगाइएका आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिन गर्न कांग्रेसले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट