Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

‘रिसको झोकमा समेत छोएको छैन’ : पत्नीहत्याको आरोप लागेका नरेशको अदालतमा बयान

‘रिसको झोकमा समेत छोएको छैन’ : पत्नीहत्याको आरोप लागेका नरेशको अदालतमा बयान

अमेरिका : अमेरिकामा बसोबास गर्ने नेपाली नर्स ममता काफ्ले भट्टको हत्याको आरोपमा मुद्दा खेपिरहेका उनकै श्रीमान् नरेश भट्टले अदालतमा आफैँ साक्षीका रूपमा उपस्थित भएर बयान दिएका छन् । उनले आफ्नी पत्नीलाई कहिल्यै शारीरिक दुर्व्यवहार नगरेको दाबी गरे ।बुधवार, नोभेम्बर ४ मा भएको सुनुवाइका क्रममा नरेशले आफू र ममताबीचको वैवाहिक सम्बन्ध, पारिवारिक जीवन र आपसी सम्बन्धबारे बयान दिएका हुन् । अमेरिकी सञ्चारमाध्यम फक्स ५ डीसीका अनुसार उनले विवाहका सुरुका दुई वर्ष निकै सुखद रहेको बताएका छन् ।अदालतमा बयान दिँदा नरेशले आफू धेरै आशावादी र थोरै नर्भस भएको उल्लेख गरे । तर बयानका क्रममा उनी निर्धक्क देखिन्थे र हाँसीहाँसी जवाफ दिएका थिए । अनुहारमा आत्मग्लानीको कुनै भाव देखिएन ।

आफ्नो अंग्रेजी भाषाको क्षमताका कारण न्यायाधीश र जुरी सदस्यहरूले आफूले भन्न खोजेको कुरा बुझ्न सक्ने हुन् कि होइनन् भन्ने चिन्ता पनि उनले व्यक्त गरेका थिए । प्रश्न बुझ्न र जवाफ दिन सहजताका लागि उनीसँग दोभाषे पनि उपस्थित थिए ।अदालतमा आफ्नो वैवाहिक सम्बन्धबारे बयान दिने क्रममा नरेशले ममतासँग कहिलेकाहीँ विवाद हुने गरेको स्वीकार गरे । तर, आफूहरूबीच शारीरिक हमला वा कुटपिट कहिल्यै नभएको उनको दाबी थियो ।शारीरिक हिंसाको आरोपबारे नरेशले भने, ‘हाम्रो परिवारमा कसैले महिलामाथि हात उठाएको इतिहास छैन, र मैले जीवनमा कहिल्यै ममतालाई रिसको झोकमा समेत छोएको छैन ।’

उनले ममतासँगको सम्बन्धलाई निकट र एकअर्कामा निर्भर रहेको सम्बन्धका रूपमा चित्रण गरे । ममता अमेरिका आएपछि उनको पढाइ, जागिरका लागि आवेदन, कागजी प्रक्रिया र सवारी चलाउन सिक्नेसम्मका काममा आफूले सहयोग गरेको नरेशले बताए ।घरायसी जिम्मेवारीमध्ये धेरै काम आफूले सम्हाल्ने गरेको नरेशको जिकिर थियो । ममताका साथीहरू आफूभन्दा धेरै रहेको र उनले साथी बनाउन वा पैसा प्रयोग गर्न आफूले रोकटोक नगरेको पनि उनले अदालतमा बताए ।दुवैबीच कहिलेकाहीँ भनाभन हुने गरे पनि त्यस्ता विवादका विशेष घटना आफूलाई सम्झना नभएको र ती कुरा सम्झिरहनुपर्ने खालका नभएको नरेशको भनाइ थियो ।

नरेशले ममतासँगको चिनजान र विवाहको प्रसंग पनि अदालतमा सुनाए । नेपालमा अर्कै युवतीसँग बिहे गर्न लाग्दा ‘चिना नमिलेर’ रोकिएको र ती युवतीकै रुममेट ममतासँग सन् २०२० मा फेसबुकमार्फत सम्पर्क भएको उनको बयान थियो ।नरेशका अनुसार ममतासँग एकदेखि दुई सातासम्म कुराकानी गरेपछि विवाह गर्ने निर्णयमा पुगेका थिए । परिवारमा मृत्यु भएपछि सुरुमा तय भएको विवाहको मिति सार्नुपरेको र पछि त्यही वर्ष विवाह भएको उनले बताए । विवाहपछि पारिवारिक सहमतिमै ममतालाई अमेरिका ल्याइएको थियो ।

सुरुवाती दुई वर्ष वैवाहिक जीवन अत्यन्तै सुमधुर रहेको दाबी गर्दै नरेशले ममताको नर्सिङ लाइसेन्स परीक्षा, जागिरको आवेदनदेखि भर्चुअल अन्तर्वार्तासम्म आफूले नै अगाडि सरेर सबै कागजी काम गरिदिएको बताए ।ममता गर्भवती भएको समयमा भने आफू चिन्तित भएको उनले बताए । छोरी जन्मिनुअघि ममताको दुईपटक गर्भपतन भएको पनि उनले अदालतमा सुनाए ।

नरेशका अनुसार ममताका यसअघि दुई पटक गर्भपतन भइसकेकाले सन् २०२३ अगस्टमा छोरी जन्मिँदा उनीहरू निकै सतर्क थिए । लामो व्यथापछि शल्यक्रियामार्फत छोरीको जन्म भएको थियो । तर, शल्यक्रियाअघि ढाडमा दिइने सुई (एपिड्युरल) पटक-पटक गलत तरिकाले छेडिँदा ममतालाई मेरुदण्ड र दिमागमा असर पुगेर अत्यधिक टाउको दुख्ने समस्या भयो ।जसका कारण उनी हप्ता दिन अस्पताल बस्नुपरेको र घर फर्किएपछि पनि लामो समय ओछ्यानबाट उठ्न नसक्दा दिसा-पिसाब सफा गर्नेदेखि सबै स्याहार आफूले नै गर्नुपरेको नरेशले अदालतसमक्ष बताए ।

छोरी जन्मिएपछि ममताको स्वभाव र व्यवहारमा अस्वाभाविक परिवर्तन आएको नरेशको दाबी छ । पहिले निकै हँसमुख, सक्रिय र घरको भान्सामा पूर्ण नियन्त्रण राख्ने ममता बिस्तारै सुस्त बन्दै गएको र भान्साको चासो नै छाडिदिएको उनले बताए ।‘उनी दिनभर सुत्न खोज्ने र सामान्य कुरामा पनि झर्किने हुन थालिन् । मैले राति खोकेको, शौचालय फ्लस गरेको वा बत्ती बालेको जस्ता सानातिना कुरामा पनि उनी चिढिन्थिन्,’ नरेशले बयानमा भनेका छन्, ‘अहिले फर्केर हेर्दा उनलाई प्रसवपछिको डिप्रेसन (पोस्टपार्टम डिप्रेसन) भएको हुनसक्छ, तर म दिनमा १६–१७ घण्टा दुईवटा जागिरमै व्यस्त भएकाले मैले त्यसलाई गम्भीर रूपमा बुझ्न सकिनँ ।’

ममताको परिवारसँग आफ्नो सम्बन्ध राम्रो रहेको, विशेषगरी उनका आमाबुबासँग राम्रो सम्बन्ध रहेको नरेशको दाबी थियो । ममताका दाजु महेश काफ्लेले सोमबार अदालतमा दिएको बयानबाट मात्रै आफूलाई दाजुले मन नपराउने रहेछन् भन्ने थाहा भएको पनि उनले बताए ।ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

त्यसपछि प्रहरी दम्पती बस्दै आएको घरमा पुगेको थियो । नरेशले सुरुमा ममता हराएको विश्वास नभएको र आफूले उनलाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए । उनले ममता घर छाडेर जान चाहेको र सम्बन्ध विच्छेदको कुरा गरेको पनि प्रहरीलाई बताएका थिए ।अगस्ट ५ मा नरेशले औपचारिक रूपमा ममता हराएको उजुरी दिएका थिए । तर, परिवार र साथीहरूले ममताले आफ्नो सानो छोरीलाई छाडेर कसैलाई खबर नगरी घर नछाड्ने बताउँदै आएका थिए ।

प्रहरीले अगस्ट २२, २०२४ मा नरेशलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा दम्पतीको घरको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग फेला परेको थियो । अनुसन्धानकर्ताहरूले रौँका टुक्रा रहेको विद्युतीय आरा पनि बरामद गरेका थिए ।मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले घरमा भेटिएको रगत, फरेन्सिक परीक्षण, विद्युतीय आरा, मोबाइल फोनका विवरण र नरेशको गाडीको आवागमनसम्बन्धी तथ्यांकलाई प्रमाणका रूपमा प्रस्तुत गरेको छ ।अभियोजन पक्षका फरेन्सिक विशेषज्ञले शयनकक्षको कार्पेटमा भेटिएको अधिकांश रगत ममताकै भएको सम्भावना अत्यन्त बलियो रहेको बयान दिएका थिए । विद्युतीय आरामा भेटिएको रगत तथा डीएनए पनि ममतासँग सम्बन्धित रहेको अभियोजन पक्षको दाबी छ ।

अभियोजन पक्षले नरेशले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर लुकाएको आरोप लगाएको छ । तर, ममताको शव अहिलेसम्म फेला परेको छैन ।यसअघि प्रतिरक्षा पक्षले भने अभियोजन पक्षका प्रमाणमा रहेका रिक्तता र अनुमानमा आधारित व्याख्यालाई प्रश्न उठाउँदै आएको छ । प्रतिरक्षा पक्षको तर्कअनुसार ममताको बेपत्ता भएको समय र घटनाको वास्तविक क्रमबारे अभियोजन पक्षले उठाएका सबै प्रश्नको निर्णायक जवाफ प्रमाणले नदिएको दाबी गरिएको छ ।

नोभेम्बर २ मा अभियोजन पक्षले आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेको थियो । त्यसपछि प्रतिरक्षा पक्षले नरेशलाई नै साक्षीका रूपमा प्रस्तुत गरेको हो । उनले अदालतमा राखेका दाबीलाई अभियोजन पक्षले जिरहका क्रममा चुनौती दिन सक्छ । त्यस क्रममा उनको बयान, यसअघिका प्रहरीसमक्षका भनाइ र प्रस्तुत भौतिक प्रमाणबीच मेल छ वा छैन भन्ने विषय महत्त्वपूर्ण हुनेछ ।

नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाउने र शवलाई क्षतविक्षत पार्ने अभियोग लगाइएको छ । उनले आफूलाई दोषी मानेका छैनन् । ममताको शव फेला नपरेको अवस्थामा अभियोजन पक्षले प्रस्तुत गरेका फरेन्सिक प्रमाण, घटनाक्रम र नरेशको बयानलाई जुरीले कसरी मूल्यांकन गर्छ भन्ने विषय यो मुद्दाको निर्णायक पक्ष बन्ने देखिन्छ ।नरेशको बयान हत्याको मुख्य विषयवस्तुमा प्रवेश गरिसकेको छैन । बयान आज पनि निरन्तर हुने छ । सम्भवत आजको बयानमा पत्नी हत्याका विषयमा उनीमाथि विस्तृत केरकार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट