काठमाडौंः तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी जनशक्ति परिचालन तथा निगरानी बढाइएको हो। बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका र बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए।
यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर प्रयोग गरिनेछ।
जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै तत्काल प्रतिकार्यका लागि द्रुत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकता दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ। त्यस्तै, अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ।
लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ। लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुव्र्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij