काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वहरूको सुन्दर पक्ष रहेको बताएका छन् । यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पशुपन्छीप्रतिको सम्मान, सहअस्तित्व र सद्भावको महत्त्व औँल्याएका हुन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले काग तिहारमा कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्पराले नेपाली संस्कृति र प्रकृतिबीचको सम्बन्ध झल्काउने बताएका छन् ।
उनले प्राचीन समयमा आधुनिक सञ्चारका माध्यम नभएका बेला काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने प्रचलन रहेको स्मरण गरेका छन् । कागलाई यमराजको दूत मान्दै शुभ सन्देश पुर्याउने कामनासहित पूजा गर्ने परम्परा रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले यमपञ्चकमा परिवारका सदस्यहरूको नाममा यम दीपदान गर्ने परम्पराको चर्चा गर्दै नेपाली संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा पनि बुझाएको उल्लेख गरेका छन् ।
त्यस्तै, आजै परेको धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैको निरोगी जीवनको कामना गरेका छन् ।
भोलि मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले मानिसको विश्वासिलो र वफादार साथी कुकुरप्रति प्रेम तथा कृतज्ञता व्यक्त गर्ने परम्पराको महत्त्वसमेत औँल्याएका छन् ।
घरको रखवारीदेखि अनुसन्धान र उद्धार कार्यसम्म मानिसलाई साथ दिने कुकुरको सम्मानले अन्य जीवप्रतिको सहअस्तित्व र सद्भावलाई थप प्रगाढ बनाउने उनले बताएका छन् । प्रधानमन्त्री शाहले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहँदै समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा चाडपर्वबाट प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij