Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

चितवन : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति तथा चितवन–२ का सांसद रवि लामिछाने निर्वाचन सकिएको लामो समयपछि बिहीबार चितवन आएर लगभग २४ घण्टा बिताउँदा पार्टीका कार्यकर्ता, मतदाता र संघसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट गरेका छन् ।

फर्कने बेलामा भरतपुरको चितवन गार्डेन रिसोर्ट (सीजीआर)मा पार्टीको जिल्ला समितिले आयोजना गरेको विशेष सम्बोधनमा सभापति लामिछानेले कार्यकर्ताको शैली र समसामयिक राजनीतिक विषयमा गरेको तिखो टिप्पणी अहिले चर्चामा छ । चुनावपछि गएको असारमा भरतपुरमै भएको पार्टीको पहिलो केन्द्रीय महाधिवेशनमा लामिछाने चितवनमा व्यस्त थिए । त्यसपछि बिहीबार साँझपख विमानबाट भरतपुर ओर्लेका लामिछानेले लगत्तै भेटघाट र सम्बोधनको शृङ्खला सुरु गरेका थिए ।

पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलले बिहीबार भरतपुर आएलगत्तै जिल्ला पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेको जानकारी दिए । जहाँ पार्टीका क्षेत्रीय र पालिका समितिका सभापतिहरू सहभागी थिए । त्यसपछि प्रस्तावित पूर्वपश्चिम रेलमार्गमा घरजग्गा पर्ने भरतपुरका स्थानीय र भरतपुर विमानस्थल आडको दक्षिण र पश्चिम किनारमा घरजग्गा भएका स्थानीयहरूले लामिछानेसँग आफ्ना अप्ठ्याराहरू राखेका थिए ।

रेलमार्ग र भरतपुर विमानस्थल विस्तार हुँदा हजारौंको घरजग्गालाई असर पर्ने स्थानीयहरूको भनाइ रहँदै आएको छ । त्यसपछि भरतपुर आँखा अस्पतालका प्रतिनिधिहरूले लामिछानेसँग भेट गरेका थिए । भरतपुरको सरकारी अस्पतालको जग्गा भोगचलन गर्दै आएको आँखा अस्पताल गैरसरकारी संस्था नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको हो । यहाँ भरतपुर अस्पतालको जग्गा भोगाधिकार र स्वामित्व विवाद छ । पार्टीको जिल्ला समिति र महानगर समितिसँग छलफल सकेर केही सरकारी अधिकारीसँगको भेटपछि बिहीबारको कार्यक्रम सकिएको थियो ।

शुक्रबार बिहानैबाट लामिछानेको भेटघाट सुरु भएको थियो । जिल्लाका केही राजनीतिक व्यक्तित्वसँग भेटघाट भ्याएर लामिछाने नारायणगढ नारायणी नदी किनारको गौरेश्वर पशुपति मन्दिर पुगेका थिए । सो मन्दिरमा गएको वर्षायाममा नारायणीमा आएको बाढीले तल्लो खण्डमा क्षति गरेको छ । नदी कटान रोक्न मन्दिर समितिले लामिछानेसँग सहयोग मागेका छन् । त्यसपछि चितवन उद्योग वाणिज्य संघमा संघका पदाधिकारीहरूसँग लामिछानेको छलफल सम्पन्न भएको थियो । संघका पदाधिकारीहरूले नारायणी नदीको कटानबाट नारायणगढलाई जोगाउन तत्काल विशेष योजनाहरू आउनुपर्ने माग गरेका थिए । उद्योग वाणिज्य संघपछि पनि लामिछाने भरतपुर–३ र ४ नम्बर वडाको नारायणी नदी किनार बाह्रघरे र रामघाट गएर कटान भएको क्षेत्र निरीक्षण गरेका थिए ।

भरतपुर क्षेत्रको कार्यक्रमपछि लामिछाने चितवन–२ अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिकाको मुग्लिन बजार गएर पार्टीको गाउँ इकाइ समितिले राखेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका थिए । मुग्लिनबाट फर्कने क्रममा भरतपुर–१ को पार्टी समितिले रामनगरमा राखेको शुभकामना कार्यक्रममा सरिक भएको जिल्ला समितिका सचिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट