सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमा एक गर्भवती महिला र तीन बालबालिकासमेत छन्।
शनिबार दिउँसो करिब १:३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१–००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५–२० मिटर तल खेतमा खसेको हो।
प्राप्त प्रारम्भिक विवरणअनुसार घाइते सबैलाई उपचारका लागि मकवानपुरतर्फ पठाइएको छ। उनीहरूको उपचार भइरहेको अस्पतालको नाम भने खुलाइएको छैन।
गर्भवती महिलाको परिचय खुल्न बाँकी
दुर्घटनामा नाम, थर र ठेगाना नखुलेकी अन्दाजी ३२–३३ वर्षीया गर्भवती महिला गम्भीर घाइते भएकी छन्।
मकवानपुरको बागमती गाउँपालिका–१ बस्ने १९ वर्षीया कान्छीमाया पहरी र उनकी तीन वर्षीया छोरी समीक्षा पहरी पनि गम्भीर घाइते भएका छन्।
सोही स्थानका नौ वर्षीय प्रवास पहरीको निधार र अनुहारमा चोट लागेको छ। प्रारम्भिक विवरणमा उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको उल्लेख छ। सात वर्षीया स्वस्तिका पहरी पनि गम्भीर घाइते भएकी छन्।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरे बस्ने ६० वर्षीया पातलीमाया भोलनको अवस्था पनि गम्भीर रहेको विवरण प्राप्त भएको छ। अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ बस्ने ४० वर्षीय गंगा घिसिङको अवस्था भने मध्यम रहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान
दुर्घटनापछि प्रहरी चौकी हरिहरपुरगढीबाट टोली घटनास्थलमा खटिएको छ। अटो घटनास्थलमै रहेको र दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक विवरणमा अटो अनियन्त्रित भएर दुर्घटना भएको उल्लेख भए पनि नियन्त्रण गुमाउनुको कारण खुलिसकेको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij