Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान


काठमाडौँ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।

गत हप्ता सम्पन्न निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र विपक्षी नेता आइजेनकोट कसैको पनि गठबन्धनले १२० सदस्यीय इजरायली संसद (नेसेट) मा स्पष्ट बहुमत ल्याउन नसकेपछि राष्ट्रपतिले दलहरूसँगको निरन्तर छलफलपछि यो निर्णय लिएका हुन्।

नयाँ सरकार गठनका लागि आइजेनकोटले २८ दिनको समय पाएका छन्। यदि उक्त समयमा पनि सरकार गठन हुन नसकेमा उनलाई थप १४ दिनको समय दिइन सक्ने बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
सरकार गठनको जिम्मेवारी पाएलगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै आइजेनकोटले भनेका छन्, 'अहिले राष्ट्रिय आपतकालीन सरकार गठन गर्ने बेला हो। हामी यसको योग्य छौं भनी सुनिश्चित गर्न म सबै प्रयास गर्नेछु।'

निर्वाचनमा नेतन्याहुको दक्षिणपन्थी ‘लिकुड’ पार्टी र उसका सहयोगी दलले ५३ सिट जितेका छन् भने आइजेनकोटको मध्यमार्गी ‘यासर’ पार्टी र अन्य तीन यहुदी विपक्षी दलको गठबन्धनले ४८ सिट जितेको छ। इजरायलको इतिहासमा हालसम्म कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सकेको छैन, जसका कारण त्यहाँ सधैं गठबन्धन सरकार बन्ने गरेको छ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, निर्वाचित सांसदहरूसँगको परामर्शपछि आइजेनकोटलाई प्रधानमन्त्रीका रूपमा ६७ सांसदको समर्थन (सिफारिस) प्राप्त भएको थियो भने नेतन्याहुले ४६ जनाको मात्र समर्थन पाएका थिए। इजरायलमा सबैभन्दा धेरै सिट जित्ने पार्टीको नेतालाई भन्दा पनि जसले गठबन्धन बनाएर सरकार चलाउन सक्छ भन्ने लाग्छ, उसैलाई सरकार गठनको अवसर दिने विशेष अधिकार राष्ट्रपतिसँग हुन्छ।

यसपटकको चुनावमा अरब मतदाताको उल्लेख्य सहभागिताका कारण अरब-नेतृत्वका दुई गठबन्धन (युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्ट) ले ऐतिहासिक १९ सिट जितेका छन्। जसका कारण नयाँ सरकार गठनमा उनीहरूको भूमिका ‘किङ्मेकर’ को रूपमा देखिएको छ। यद्यपि, चुनावअघि अधिकांश यहुदी पार्टीहरूले अरब पार्टीहरूसँग मिलेर सरकार नबनाउने वाचा गरेकाले सत्ता समीकरण भने निकै जटिल देखिएको छ।
राष्ट्रपतीय परामर्शका क्रममा राष्ट्रपति हर्जोगले फेरि अर्को चुनाव हुन नदिन र स्थिर सरकार बनाउन दलहरूलाई सम्झौता गर्न आग्रह गरेका थिए। उनले दलहरूलाई वर्तमान परिस्थितिमा सबै चुनावी बाचा र प्रतिबद्धताहरू पूरा गर्न नसकिने यथार्थ बुझ्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij