काठमाडाैं : नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् ।सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैँ, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भक्तपुरवासीको मनोबल र मान घटेको टिप्पणी गरेका हुन् ।उनले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसक्ने व्यक्ति निर्वाचन जितेर गएको भन्दै भक्तपुरवासीले विगतमा करोडौँ रुपैयाँ बजेट माग्ने गरेको तर अहिले १० लाख रुपैयाँ माग्न सक्ने हैसियतसमेत नरहेको दाबी गरे । भक्तपुरलाई यस्तो अवस्थामा पुर्याउने ‘नक्कली स्याल’ र ‘भेडाको छाला ओढेका ब्वाँसो’हरूको पर्दाफास गर्नुपर्ने उनको भनाइ छ ।
उक्त अभिव्यक्तिमार्फत बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सांसद राजीव खत्रीप्रति लक्षित टिप्पणी गरेका हुन् । उनले नेपाली जनताले चाहेको पार्टी नेकपा एमाले भएको दाबी गर्दै विकास र समृद्धिको अभियान अघि बढाउने सामथ्र्य एमालेसँग मात्रै रहेको जिकिर गरे ।
सचिव बस्नेतले भने, ‘एक लाख रुपैयाँको बजेटसमेत ल्याउन नसक्ने नेतृत्व आज चुनाव जितेर गएको छ । यसले भक्तपुरवासीको आत्मविश्वास, मनोबल र प्रतिष्ठामा चोट पुर्याएको छ । हिजो करोडौँ रुपैयाँको बजेट माग्न सक्ने भक्तपुर आज १० लाख रुपैयाँको बजेट माग्नसमेत कठिन अवस्थामा पुगेको छ । यस्तो अवस्था कसरी सिर्जना भयो भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्छ र जनतासामु तथ्यहरू स्पष्ट पारिनुपर्छ । भक्तपुरको विकास, समृद्धि र जनताको अपेक्षालाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा नेकपा एमाले र कमरेड केपी शर्मा ओलीको नेतृत्वमा अघि सारिएको विकास र समृद्धिको अभियानबारे जनतामाझ पुनः बहस र चर्चा हुन थालेको छ ।’नेपाली जनताले समृद्धिको वाहकका रूपमा आफूलाई र नेकपा एमालेलाई पुनः महशुस गर्न थालेको उनको दाबी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij