Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

काठमाडौंको रात्री अर्थतन्त्रमा भाटभटेनीको प्रवेश, टंगाल शाखा आजदेखि २४ घण्टा खुला

काठमाडौंको रात्री अर्थतन्त्रमा भाटभटेनीको प्रवेश, टंगाल शाखा आजदेखि २४ घण्टा खुला

काठमाडौं : राति ९ बज्दै गर्दा काठमाडौंका अधिकांश बजारका सटर बन्द हुन थाल्छन्। दिनभर भीडभाड रहने सडक र व्यापारिक क्षेत्र क्रमशः सुनसान बन्दै जान्छन्। पर्यटकीय देशको राजधानी भएर पनि रातिको समयमा किनमेल, खानपान र मनोरञ्जनका पर्याप्त विकल्प नपाउँदा विदेशी पर्यटकदेखि स्थानीय उपभोक्तासम्म निराश हुनुपर्ने अवस्था छ। दिनमा व्यस्त रहने काठमाडौं रात परेपछि निदाउने सहरजस्तै बन्ने गरेको छ।

विश्वका प्रमुख पर्यटकीय सहरहरूमा भने राति पनि बजार खुला रहन्छन्, रेस्टुरेन्टमा चहलपहल हुन्छ, सार्वजनिक यातायात चल्छ र पर्यटकले आफ्नो इच्छाअनुसार समय बिताउन पाउँछन्। काठमाडौंलाई पनि त्यस्तै चलायमान सहर बनाउने बहस वर्षौंदेखि हुँदै आएको छ। तर ठमेल र दरबारमार्गबाहेक अन्य क्षेत्रमा रात्रिकालीन गतिविधि विस्तार हुन सकेको छैन।

यही परिदृश्यबीच काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट आज मंसिर १ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा आएको छ। अब रातिको समयमा पनि ग्राहकले टंगाल शाखाबाट आवश्यक सामग्री खरिद गर्न सक्नेछन्। भक्तपुरको राधेराधेबाट सुरु भएको भाटभटेनीको २४ घण्टे सेवा राजधानीको अर्को प्रमुख व्यापारिक केन्द्रसम्म विस्तार हुनु केवल व्यावसायिक निर्णय मात्र होइन, काठमाडौंको रात्रिकालीन जीवनशैली परिवर्तन गर्ने दिशामा निजी क्षेत्रबाट भएको एउटा महत्त्वपूर्ण पहल पनि हो।

सत्तारुढ दलका नेताद्वयले गरेका थिए पहल 
काठमाडौंलाई २४ घण्टा खुला राख्ने अवधारणा आजको होइन। काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा रात्रिकालीन व्यवसायलाई समेटेका थिए। काठमाडौंलाई जीवन्त र चलायमान सहरका रूपमा विकास गर्न सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर रात्रिकालीन व्यवसाय मर्यादित रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनको नीति थियो।त्यसपछि तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यो अवधारणालाई प्रशासनिक तथा सुरक्षा व्यवस्थासहित कार्यान्वयनमा लैजाने प्रयास गरे। २०८० चैतमा उनले ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा सञ्चालन गर्ने गरी सुरक्षा र व्यवस्थापन मिलाउन निर्देशन दिए। जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी र व्यवसायीबीच समन्वय गरेर रात्रिकालीन व्यवसाय सञ्चालनका लागि आवश्यक आचारसंहिता र सुरक्षा मापदण्ड अघि बढाइयो।

अन्ततः २०८१ वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा सञ्चालन गर्ने औपचारिक सुरुवात भयो।यसरी बालेनले महानगरको नीतिमा रात्रिकालीन अर्थतन्त्रलाई स्थान दिए भने रविले गृह प्रशासनमार्फत त्यसलाई कार्यान्वयनमा लैजाने पहल गरे। तर उनीहरूले अघि सारेको अवधारणा ठमेल र दरबारमार्गजस्ता सीमित क्षेत्रमा बढी केन्द्रित रह्यो। अहिले भाटभटेनीले टंगाल शाखा चौबीसै घण्टा सञ्चालनमा ल्याउनु त्यस अवधारणालाई अन्य व्यापारिक क्षेत्रमा विस्तार गर्ने नयाँ अभ्यास हो।

ठमेलबाट बाहिरिन नसकेको रात्रिकालीन जीवनशैली
काठमाडौंको रात्रिकालीन जीवनशैली भन्नासाथ धेरैको सम्झनामा ठमेल आउँछ। विदेशी पर्यटकको प्रमुख गन्तव्य ठमेलमा रेस्टुरेन्ट, बार, क्लब र मनोरञ्जनका गतिविधि रातिसम्म सञ्चालन हुँदै आएका छन्। दरबारमार्ग पनि रात्रिकालीन गतिविधिको अर्को केन्द्र हो।तर यी दुई क्षेत्रमै रात्रिकालीन गतिविधि सीमित राखेर काठमाडौंलाई २४ घण्टा खुला सहर बनाउन सम्भव छैन। टंगाल, बानेश्वर, लाजिम्पाट, बौद्ध तथा अन्य व्यापारिक क्षेत्रमा समेत आवश्यकताअनुसार रात्रिकालीन सेवा विस्तार गर्न सके राजधानीको आर्थिक गतिविधि रातिसम्म फैलिन सक्छ।भाटभटेनीको टंगाल शाखा खुला रहँदा नियमित कार्यालय समयमा किनमेल गर्न नभ्याउने कर्मचारी, अस्पताल तथा होटलमा कार्यरत जनशक्ति, सञ्चारकर्मी, व्यवसायी र रात्रिकालीन सेवामा संलग्न व्यक्तिले समेत सुविधा पाउनेछन्। विदेशी पर्यटकका लागि पनि रातिको समयमा किनमेल गर्न सकिने अर्को विकल्प थपिनेछ।

सरकारले अब निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ
काठमाडौंलाई २४ घण्टा खुला सहर बनाउने जिम्मेवारी निजी क्षेत्रको मात्रै होइन। यसका लागि सरकार, महानगरपालिका, प्रहरी प्रशासन, यातायात व्यवसायी र पर्यटन क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ।रातिको समयमा सार्वजनिक यातायात, सडक बत्ती, सुरक्षा, सरसफाइ, पार्किङ र अन्य आधारभूत पूर्वाधारको व्यवस्था हुन सके मात्रै निजी क्षेत्रलाई चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्न सहज हुन्छ।भाटभटेनीजस्ता ठूला व्यावसायिक संस्थाले रातभर सेवा सञ्चालन गर्ने पहल गर्नु सकारात्मक सुरुवात हो। अब सरकारले यस्ता प्रयासलाई प्रोत्साहन गर्नुपर्छ। चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्न चाहने प्रतिष्ठानलाई आवश्यक सुरक्षा र प्रशासनिक सहजीकरण उपलब्ध गराउनुपर्छ।निजी क्षेत्रले लगानी र सेवा विस्तार गर्ने तथा सरकारले त्यसका लागि अनुकूल वातावरण बनाउने हो भने पर्यटन, रोजगारी, होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवा क्षेत्रमा नयाँ आर्थिक अवसर सिर्जना हुन सक्छन्।

टंगालबाट सुरु भएको भाटभटेनीको यात्रा 
भाटभटेनीको यो निर्णयको अर्को रोचक पक्ष यसको आफ्नै इतिहाससँग जोडिएको छ। सन् १९८४ मा व्यवसायी मीनबहादुर गुरुङले काठमाडौंको टंगालमा एउटा सानो किराना पसलबाट सुरु गरेको व्यवसाय आज देशकै ठूलो सुपरमार्केट सञ्जालका रूपमा स्थापित भएको छ।सामान्य किराना पसलबाट सुरु भएको यात्रा आधुनिक डिपार्टमेन्टल स्टोर हुँदै देशका विभिन्न सहरमा फैलिएको छ। भाटभटेनीले नेपाली उपभोक्ताको किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।जुन टंगालबाट भाटभटेनीको व्यावसायिक यात्रा सुरु भएको थियो, त्यही स्थानबाट अब चौबीसै घण्टा सेवा सञ्चालनको नयाँ अभ्यास सुरु हुनु आफैंमा प्रतीकात्मक महत्त्वको विषय बनेको छ। चार दशकअघि एउटा सानो पसलबाट सुरु भएको व्यवसायले अहिले उपभोक्तालाई समयको सीमा नराखी सेवा दिने अवधारणालाई अघि बढाएको छ।

भक्तपुरबाट टंगालसम्म विस्तार
भाटभटेनीले २०८३ भदौ १ गतेदेखि भक्तपुरको राधेराधेस्थित शाखाबाट पहिलोपटक चौबीसै घण्टा सेवा सुरु गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा प्रचलित सुपरमार्केट सञ्चालनको अवधारणालाई नेपालमा पनि प्रयोग गर्ने उद्देश्यले कम्पनीले यो सेवा सुरु गरेको जनाएको थियो।कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले उपभोक्ताले आफ्नो अनुकूल समयमा किनमेल गर्न पाऊन् भन्ने उद्देश्यले यस्तो सेवा सुरु गरिएको बताएका थिए।भक्तपुरमा सेवा सुरु गर्दा कम्पनीले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कम्तीमा एउटा शाखा चौबीसै घण्टा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। त्यस योजनामा भक्तपुरको राधेराधेपछि ललितपुरको कृष्णगल्ली र काठमाडौंको टंगाल शाखालाई समेटिएको थियो। अहिले भक्तपुरको राधेराधे र काठमाडौंको टंगाल शाखामा चौबीसै घण्टे सेवा सञ्चालनमा आएको छ।

काठमाडौं राति पनि जाग्ने वातावरण बन्ला?
काठमाडौंलाई पर्यटकीय सहरका रूपमा स्थापित गर्ने हो भने पर्यटकलाई दिनमा मात्रै घुमाउने र राति होटलमा फर्काउने सोचबाट बाहिर निस्कन आवश्यक छ। पर्यटकले आफ्नो इच्छाअनुसार रातिसम्म किनमेल, खानपान, मनोरञ्जन र घुमफिर गर्न पाउने वातावरण निर्माण गर्नुपर्छ।रात्रिकालीन अर्थतन्त्र विस्तार हुन सके पर्यटनसँगै रोजगारी र व्यापारका नयाँ अवसर सिर्जना हुन सक्छन्। तर त्यसका लागि सुरक्षा, यातायात र आधारभूत पूर्वाधारको सुनिश्चितता अनिवार्य हुन्छ।बालेनले नीतिमा देखेको, रविले प्रशासनिक रूपमा अघि बढाएको रात्रिकालीन सहरको अवधारणालाई अब भाटभटेनीले टंगालबाट व्यावसायिक रूपमा अघि बढाएको छ। निजी क्षेत्रले बाटो देखाएको यो पहललाई सरकारले साथ र प्रोत्साहन दिन सके काठमाडौंलाई साँच्चिकै २४ घण्टा जाग्ने राजधानी बनाउन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij