काभ्रेपलाञ्चोक : बिपी राजमार्ग चौडा पारिने भएको छ। सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो।सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे सडक डिभिजन सडक कार्यालय, भक्तपुरले जनाएको छ। सडक चौडा पार्न रु तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० स्रोत प्रस्ताव गरिएको जनाइएको छ । हाल भने मुख्य कालोपत्रे भागको चौडाइ सामान्यता पाँच दशमलव ५ मिटर (इन्टरमिडियट : एक लेनभन्दा केही फराकिलो) रहेको छ।
कार्यालयका अनुसार चौडा पारिने सडकको लम्बाइ २० दशमलव छ किलोमिटर रहेको छ । सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राससलाई जानकारी दिए।
Laxmi sunrise bank
उनले प्रारम्भिक बातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम अन्तिम चरमा पुगेको पनि बताए। डिपीआर अनुसार रु तीन अर्ब ७९ करोड ७८ लाख ५०० लाग्ने खर्चका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्रोत प्रस्ताव गरिएको योगेशको भनाइ छ।
कूल खर्चानुमान अनुसार सडक फराकिलो बनाउन प्रतिकिलोटिर रु १८ करोड छ लाख लाग्ने भएको हो। “स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रियामा गइनेछ, यसै वर्ष विस्तारको काम सुरु हुन्छ”, योगेशले भने। उनका अनुसार धुलिखेलदेखि भकुण्डेबेँशीसम्म सडक दायाँबाँयाका रुख कटान गर्नुपर्ने तथा मोड सुधारका लागि केही घरसमेत भत्काउनुपर्ने अवस्था रहेकाले काम सुरु गर्न ठेक्का प्रक्रियासँगै केही महिना लम्बिन सक्ने छ । काम सुरु गरिएको तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न हुने समय सीमा सम्झौतामा तोकिने छ।
सडक दायाँबाँया १५ मिटरभित्र बनेका उक्त संरचना तथा जग्गाको मु–आब्जा वितरण भइसकेको योगेशले बताए। हाल विस्तार गर्ने भनिएको उल्लेखित दुरीको सडक धुलिखेल, पाँचखाल, पनौती तथा नमोबुद्ध नगरका सडकखण्डमा पर्दछ । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्र तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा पछिल्ला केही बर्षदेखिको बाढी–पहिरोले क्षतिग्रस्त केही नयाँ पुनर्निमाण हुने खण्डलाई भने विस्तार गरेर नाला र ढलसहित ११ मिटर (मुख्य कालापत्रे भाग सात मिटर) बनाउने योजनासहितको काम बढाइएको कार्यालयले जनाएको हो।
सडकखण्ड विस्तारपछि प्रतिघण्टा ३० बाट ६० किमी पुर्याइनेछ। जसका कारण ठूला सवारीसाधन आवागमनमा कुनै समस्या देखिने छैन । सडक विस्तारपछि नारायणगढ हुँदै लामो दूरी घुमेर काठमाडौँ आउनुपर्ने ठूला सवारीसाधन बिपी राजमार्ग हुँदै छोटो दूरीमै राजधानी भित्रिन सक्नेछन्। विस्तारका क्रममा सहज स्थानमा पर्खाल उठाएर र अप्ठ्यारा ठाउँमा भित्तो काटेर सडक चौडा गरिने कार्यालयले जनाएको छ ।
विसं २०८१ असोजको बाढीपहिरोले भकुण्डेबेँशीदेखि नेपालथोकसम्मको सडकखण्डमा व्यापक क्षति पुर्याएपछि त्यस क्षेत्रलाई दुई लेनमै पुन:निर्माण गर्ने प्रक्रियाअघि बढाइएको थियो।
सोही क्रममा सुरुवाती बिन्दु धुलिखेलदेखि भकुण्डेबेँशीसम्मको खण्डलाई पनि दुई लेन बनाउन माथिल्लो निकायबाट प्रस्ताव स्वीकृत भएको योगेशको भनाइ छ। धुलिखेलदेखि नेपालथोकसम्मको करिब ५२ किमी सडक दुई लेन बनेपछि नेपालथोकबाट मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्म सहजै पुग्न सकिनेछ ।
नेपालथोकदेखि खुर्कोटसम्मको पुरानो बिपी राजमार्गलाई दुई लेन बनाउन भौगोलिक रुपमा कठिन भएकाले नेपालथोकमा सुनकोशी नदीमाथि दुई लेनको पक्की पुल निर्माणका लागि पनि ठेक्का लागिसकेको योगेशले जानकारी दिए।
यस्तै विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुन्डेबोसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । त्यसयता रोशी खोलामा अस्थायी रुपमा डाइभर्सन बनाइ आवागमन गराउँदै आइएको थियो ।
हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुन:निर्माणको काम तीव्ररुपमा भइरहेको कार्यालयले जनाएको छ । क्षग्रिस्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको थियो ।
जसमध्ये काभ्रेपलाञ्चोक तर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो।
खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij