काठमाडौं : गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण आफ्नो खुट्टामा गम्भीर स्वास्थ्य समस्या देखिएको खुलासा गरेका छन् । चिकित्सकले खुट्टा नै काट्नुपर्ने हुन सक्ने बताएपछि आफू उपचारका लागि अस्ट्रेलिया आएको उनले बताएका छन् ।हाल सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया भ्रमणमा रहेका सिंहले एक भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य अवस्था र व्यक्तिगत संघर्ष सार्वजनिक गरेका हुन् ।उनका अनुसार उनी लामो समयदेखि अत्यधिक धूम्रपान गर्ने गर्थे । दिनमा चारदेखि पाँच बट्टासम्म चुरोट सेवन गर्ने गरेको बताउँदै उनले चिकित्सकले खुट्टामा देखिएको समस्याको प्रमुख कारण अत्यधिक धूम्रपान रहेको जानकारी दिएको उल्लेख गरेका छन् ।
खुट्टामा समस्या देखिएपछि अस्पताल पुगेका उनलाई चिकित्सकले शरीरको समग्र स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणपछि धूम्रपान तत्काल छाड्न चिकित्सकले सुझाव दिएको सिंहले बताएका छन् ।'जब डाक्टरले अब मेरो खुट्टा काट्नुपर्ने हुन सक्छ भन्नुभयो, त्यसपछि म नेपालबाट यहाँ आइपुगेँ,' उनले भिडियो सन्देशमा भनेका छन् ।सिंहले अहिले पनि औषधि सेवन गरिरहेको र धूम्रपानको मात्रा घटाउने प्रयास गरिरहेको बताएका छन् । पहिले दैनिक चारदेखि पाँच बट्टासम्म चुरोट सेवन गर्ने गरेकोमा अहिले दुई खिल्लीमा झारेको उनको भनाइ छ ।
आफ्नो स्वास्थ्यप्रति लापरबाही गरेको स्वीकार गर्दै उनले त्यसको जिम्मेवारी आफैँले लिनुपर्ने बताएका छन् ।'भोलि मलाई केही भयो भने त्यसको दोष अरू कसैलाई जाने छैन । मैले नै आफ्नो स्वास्थ्यमा खेलबाड गरेको हुँ,' उनले भनेका छन् ।उनले उपचारमा संलग्न चिकित्सक डा. दीपेश शाक्यलाई धन्यवाद दिँदै अस्ट्रेलिया भ्रमणका क्रममा साथ र हेरचाह गर्ने गायक प्रकाश सपूत र गायिका रचना रिमालप्रति पनि आभार व्यक्त गरेका छन् ।
सिंहले अस्ट्रेलियाको तास्मानियामा सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् । अब एडिलेडमा हुने कार्यक्रममा सहभागी भएपछि सधैँका लागि धूम्रपान त्याग्ने प्रण गरेर फर्किने उनको भनाइ छ ।आफ्नो व्यक्तिगत अनुभव सार्वजनिक गर्नुको उद्देश्य अरूलाई पनि धूम्रपानबाट टाढा रहन प्रेरित गर्नु रहेको बताउँदै उनले सबैलाई चुरोट छाड्न आग्रह गरेका छन् ।'त्यसैले सबैलाई भन्न चाहन्छु, धूम्रपान छाड्नुहोस्,' उनले आफ्नो भिडियो सन्देशमा भनेका छन् ।जीवनको कुनै पनि पल गुमाउन नचाहेको बताउँदै सिंहले आफू बाँचुन्जेल गीत गाइरहने, संगीतमार्फत दर्शक तथा श्रोतासँग जोडिइरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै उनले आफ्नो स्वास्थ्यलाभका लागि शुभेच्छुकलाई प्रार्थना गरिदिन आग्रह गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij