काठमाडौँ : आगामी जेठ २३ बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषय संयोजन गर्दै तयार गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् ।
पोस्टरमा अटाएका धेरै कलाकार मध्य सबैभन्दा अगाडि एउटा बाख्रे छ, जसले गुलाबी रङको चस्मा लगाएको छ । सार्वजनिक पोस्टर रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो ।
पोस्टरमा देखिएका पात्रहरूकै हाउभाउले फिल्ममा रोमाञ्चक कथा र हास्यपूर्ण ट्वीस्ट भएको अनुमान गर्न सकिन्छ । पोस्टरमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकार छन् ।
सिमोश सुनुवारको निर्देशन रहेको फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको पनि अभिनय छ । यसअघि सार्वजनिक फिल्मका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइरहेका छन् ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माणमा तयार भएको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । हरि हुमागाईं र उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको फिल्म टिफल्क फिल्मस्ले वितरण गर्नेछ । फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij