Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

जेठमा आउन लागेका यी ६ फिल्मले कस्तो गर्लान् व्यवसाय ?

जेठमा आउन लागेका यी ६ फिल्मले कस्तो गर्लान् व्यवसाय ?

काठमाडौँ  :  वैशाखमा नेपाली फिल्मको व्यवसाय खासै उत्साहजनक रहेन । ‘भूठान,’ ‘खेल,’ ‘झिल्को,’ ‘जार’ र ‘उनको स्वीटर’ गरेर ५ फिल्म प्रदर्शन आएको वैशाखमा ‘उनको स्वीटर’बाहेक अरूले गतिलो व्यवसाय गर्न सकेनन् ।गत २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको ‘उनको स्वीटर’ले सुरुवाती व्यवसाय राम्रो गरेको छ । यद्यपि एक साताको व्यापार हेर्नै बाँकी छ । फिल्म प्रदर्शनरत छ ।

व्यावसायिक रूपमा अपेक्षाकृत फिल्म ‘भूठान,’ ‘झिल्को’ र ‘जार’ले पनि आशातीत दर्शक पाउन सकेनन् । यस्तैमा जेठमा ६ वटा फिल्म आउँदै छन् । ती फिल्महरू सामाजिक, हास्यप्रधान, धार्मिक र राजनीतिक विषयका छन् ।

‘के घर के डेराः घर नम्बर २,’ ‘हेल्लो काशिराम,’ ‘नरसिंहा अवतार,’ ‘महाभोज,’ ‘जन्ते बाख्रो’ र ‘भाइरल गोर्खे’ फिल्ममा जेठमा आउँदैछन् ।शुक्रबार फिल्म रिलिज हुने परम्परा छ । जेठमा पाँच शुक्रबार परेका छन् । अर्थात् कुनै नै कुनै फिल्म भिड्ने पक्का छ ।

जेठको पहिलो शुक्रबार (२ गते) ‘के घर के डेराः घर नम्बर २’ र ‘हेल्लो काशिराम’ प्रदर्शनमा आउने तयारीमा छन् । यी दुवै फिल्म व्यावसायिक प्रतिस्पर्धामा एक अर्काेसँग जुध्न लागेका हुन् । ‘के घर के डेराः घर नम्बर २’ नकिम उदीन, शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठले बनाएका हुन् भने ‘हेल्लो काशिराम’का निर्माता पीबी थापा हुन् ।

जेठको दोस्रो शुक्रबार भने राजेश हमाल अभिनित बहुप्रतीक्षित (जेठ ९ गते) ‘नरसिंहा : अवतार’ रिलिजको तयारीमा छ । अर्थात् योसँग कुनै पनि फिल्म जुध्ने अवस्था देखिएको छैन । फिल्मका निर्माता नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने हुन् ।

त्यस्तै, तेस्रो शुक्रबार (१५ गते) ‘महाभोज,’ चौथो शुक्रबार (२३ गते) ‘जन्ते बाख्रो’ र पाँचौँ शुक्रबार (३० गते) ‘भाइरल गोर्खे’ रिलिजको तयारीमा छ । अहिलेसम्म यी सबै फिल्मले पनि सिंगल रिलिज अवसर पाएको देखिन्छ । तर रिलिज मितिसम्म अर्काे थपिँदैन भन्ने अवस्था पनि छैन । कारण, फिल्म रिलिजको चाप बढ्दो छ । ‘महाभोज’ हिमाल कडरिया, ‘जन्ते बाख्रो’ सन्तोष गौतम र ‘भाइरल गोर्खे’ विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवरले निर्माण गरेको फिल्म हो ।

व्यावसायिक अपेक्षा कस्तो ? जेठमा रिलिजमा आउन लागेका ‘के घर के डेराः घर नम्बर २,’ ‘हेल्लो काशिराम,’ ‘नरसिंहा अवतार,’ ‘महाभोज,’ ‘जन्ते बाख्रो’ र ‘भाइरल गोर्खे’ सबैको व्यावसायिक अपेक्षा उच्च छ । किनभने यी फरक–फरक कथावस्तु, चर्चित कलाकारहरूको अभिनय र अनुभवी निर्देशकका फिल्म पर्छन् ।

‘के घर के डेराः घर नम्बर २’ दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म हो । खनाल थुप्रै सफल फिल्म दिएका राम्रा र अनुभवी निर्देशक हुन् । साहित्यकार बुद्धिसागरको लेखन रहेको फिल्ममा चलेका कलाकार खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे लगायतको अभिनय छ । डेरामा बस्ने र घरबेटीबिचको हास्यपूर्ण द्वन्द्व फिल्ममा देख्न पाइन्छ ।

‘हेल्लो काशिराम’ रीम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्म हो । विश्वकर्मा लामो समयदेखि फिल्म क्षेत्रमा छन् । यसअघि पनि उनले आधा दर्जन बढी फिल्म बनाइसके ।सामाजिक व्यङ्ग्यमा आधारित फिल्ममा दिलीप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई, अर्जुन गुरुङ, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायत कलाकारहरूको अभिनय छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा देखिनेछिन् ।

‘नरसिंहा अवतार’ दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म हो । फिल्ममा हमालसँगै सरोज खनाल, नीति शाह, प्रशान्त ताम्राकार, नीर शाहलगायत चर्चित कलाकारको अभिनय छ । एक्सन–सोसल ड्रामा फिल्मले धार्मिक दृष्टिकोणबाट दर्शकलाई आकर्षित गर्ने अपेक्षा छ । अभिनेता हमाल ८ वर्षपछि यसैमार्फत फिल्ममा फर्किएका हुन् ।

त्यस्तै ‘महाभोज’ निर्देशक दिनेश राउतले बनाएको फिल्म हो । गाउँ समाजको राजनीति, भ्रष्टाचार र जनताका संघर्षमाथि केन्द्रित ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत राम्रा कलाकारले भरिएको छ ।

‘जन्ते बाख्रो’ पनि सिमोस सुनुवार निर्देशित फिल्म हो । कमेडी कथा बताइएको फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ । गरिबी, सपनाको पछाडि दौडिरहेको जीवन र समाजका विविध पक्षलाई फिल्मले कथा बनाएको छ ।

‘भाइरल गोर्खे’ सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनाले मानिसको जीवनमा पर्न सक्ने प्रभावको कथामा बनेको फिल्म हो । निगम श्रेष्ठ निर्देशित फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेललगायत अनुभवी कलाकारको अभिनय छ ।जेठमा रिलिज हुने फिल्मले राम्रो व्यवसाय गर्न सक्ने वितरक रोहित कट्टेलले बताए । ‘यो जेठमा संयोग कस्तो छ भने, रिलिज आउन लागेका सबै फिल्म निर्देशक र कलाकार राम्रा छन्,’ कट्टेलले भने । दर्शकले यो महिना भेराइटी कथा हेर्नसमेत पाउने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij