Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘कल्ली’मा बाघसँग देखिए सौगात, फागुन १ बाट रिलिज हुने

‘कल्ली’मा बाघसँग देखिए सौगात, फागुन १ बाट रिलिज हुने

लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तूरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गर्दै रिलिज मिति पोस्टपोन्ड गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म यसअघि कात्तिकको २१ गतेबाट रिलिज हुने घोषणा गरिएको थियो । तर, सार्वजनिक दुई नयाँ पोष्टरमा फिल्मको रिलिज मिति पोस्टपोन्ड भएको जानकारी दिइएको छ । अब, यो फिल्म फागुनको १ गतेबाट रिलिजमा आउने घोषणा निर्माणपक्षले गरेको छ ।

महेश दवाडीको लेखन रहेको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । सामाजिक कथावस्तुका फिल्म निर्देशनमा उनको नाम अहिले अगाडि आउँछ । यसैले, उनको निर्देशन रहेको ‘कल्ली’ पनि सामाजिक विषयवस्तुमा बलियो बनेको विश्लेषण गर्न सकिन्छ ।सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ ।

यस्तै, सार्वजनिक अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । यो पोष्टरले फिल्मका अधिकांश पात्रहरुको चरित्र बोल्न खोजेको छ ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।

राकेश दाहालले तयार पारेको यो पोस्टर आकर्षक छ । यो फिल्मले लोभको कथा भन्छ । मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथालाई फिल्ममा देखाइएको छ ।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । फिल्मको दुई पोष्टरले दर्शकको उत्सुकता र प्रतीक्षा अझै बढाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij