चितवन : चितवन उद्योग वाणिज्य संघको यही पुष १९ र २१ गते हुने ५९ औँ वार्षिक साधारण सभा एवम् अधिवेशनमा दुई समूह प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा शिरीष पन्त र चिरञ्जीवी सुवेदीको उमेदवारी परेको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली उद्योगतर्फ उपाध्यक्षमा अशोक अधिकारी, वाणिज्यतर्फ उपाध्यक्षमा नारायण प्रधान, वस्तुगततर्फ उपाध्यक्षमा राजन पियालगायतको उमेदवारी रहेको छ ।
पन्त समूहबाट लोकबहादुर रानाभाट सतिशले वरिष्ठ उपाध्यक्षमा, गुणराज पौडेलले उपाध्यक्षमा, जनक पौडेलले उपाध्यक्षमा यस्तै शंकर घिमिरेले उपाध्यक्षमा उमेदवारी दिएका छन् ।
‘विधान संशोधन गरेर महिला उपाध्यक्ष राख्छु’
म शिरीष पन्त । मैले चितवन उद्योग वाणिज्य संघमा अध्यक्ष पदमा उमेदवारी दिएको छु । मेरो क्रम संख्या २ रहेको छु । मसहित मेरो प्यानलबाट उमेदवारी दिनुभएका सबैलाई जिताउन लागिरहेको छु । म दुई कार्यक्रम संघमा कार्यसमिति भएर काम गरेको अनुभव छ । एक कार्यकाल म उपाध्यक्ष भएर काम गरेको छु । दुई दशकदेखि हार्डवयर व्यवसाय तथा निर्माण सामग्री व्यवसायमा आबद्ध रहेको छु । केही वर्ष यता विद्युत् व्यवसायमा पनि आबद्ध छु ।
विभिन्न दर्जन सामाजिक संघसंस्थामा म आबद्ध भएर काम गरेको छु । रोटरी क्लब, लायन्स क्लब, बागेश्वरी आध्यामिक परिषद्लगायत दर्जन बढी संघसंस्थामा म आबद्ध भएर काम गरेको छु । युवा र त्यही सोच र विचार मेरो भएका कारण म संघमा ठूलो योगदान दिन सक्छु ।
मलाई मतदाताले निर्वाचित गरेमा मैले पुलचोकदेखि पोखरा बसपार्कसम्मको सडकलाई व्यवस्थित गर्नका लागि मेनरोड क्षेत्रभित्र यात्रुवाहक सवारीसाधनमात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउँछु । वैज्ञानिक घरभाडा प्रणाली लागू गराउन सम्बन्धित निकायमा पहल गर्छु । चितवनका होटल तथा रेस्टुरेन्टहरुलाई आवश्यकताअनुसार २४सै घन्टा खुल्ने व्यवस्था मिलाउँछु ।
नारायणी नदीकिनारमा रहेका ठेलाहरुलाई व्यवस्थित गर्न स्थानीय तहसँग समन्वय गर्छु । अव्यवस्थितरुपमा सञ्चालन हुँदै आएका मेला–महोत्सव न्यूनीकरण गर्न पहल गर्छु । संघको नयाँ सदस्यता तथा नवीकरणका लागि डिजिटल एपको व्यवस्था मिलाउँछु । क्याम्पाचौरलाई मिनी स्टेडियमको रुपमा विकास गर्न आवश्यक पहल गरिनुका साथै चितवन महोत्सवमा बिक्रीकक्षभन्दा पनि प्रदर्शनी कक्षलाई प्राथमिकता दिन्छु ।
संस्थाको विधान संशोधन गरी महिला उपाध्यक्ष अनिवार्य गर्ने, कार्यसमिति सदस्यको २५ वर्षे उमेर हदबन्दी खारेज गर्छु । सूचना प्रविधि क्षेत्रका विशेषज्ञलाई विशिष्ट सदस्यमा मनोनीत गर्नेलगायतका नयाँ विषय पनि समेट्छु ।
यस्तै, सदस्यता शुल्कमा लिइने जरिवानालाई खारेज गरिनुका साथै निष्क्रिय सदस्यहरुलाई शुल्क छूटको व्यवस्था गरी पुनः आबद्ध गराउने, अतिथिगृह बन्द गरी वस्तुगत संघलाई कार्यालय सञ्चालन गर्न दिने व्यवस्था मिलाउँछु । संघलाई विशुद्ध व्यावसायिक सङ्गठन बनाउने, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि ‘मेड इन चितवन’को अवधारणा अघि सार्नेजस्ता विषयलाई मुख्य प्रतिबद्धता बनाएर मतदातासमक्ष पुगेको छु । मलाई जिताउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।
‘व्यवसायीहरुको समस्या हल गर्न प्रमुख भूमिका निभाउँछु’
म लोकबहादुर रानाभाट । चितवन उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष पदमा उमेदवार दिएको छु । मेरो क्र।सं।२ हो । म किराना व्यवसायी हुँ । रानाभाट कोल्ड तथा किराना स्टोर्सको सञ्चालक म किराना व्यवसायी संघको पूर्वउपाध्यक्ष तथा वर्तमान सल्लाहकारमा रहेको छु । उद्योग वाणिज्य संघमा वस्तुगततर्फ एक कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेको अनुभव छ । चितवन महोत्सवले गर्ने सांस्कृतिक सहसंयोजकको भूमिकामा काम गरिसकेको छु ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका पूर्वअध्यक्ष तथा हाल सल्लाहकार, जलदेवी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रीय संयोजक तथा जलदेवी ५ को संयोजक लायन्स क्लबमा पूर्वअध्यक्ष पनि हो । त्रिगङ्गा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षरानाभाट समाजका केन्द्रीय सल्लाहकार तथा चितवन जिल्ला अध्यक्ष, विन्दवासिनी बेलटाँडी जलमा टोल विकास संस्थाका पूर्वअध्यक्ष तथा हालको वरिष्ठ सल्लाहकार रहेर काम गरेको अनुभव छ ।
मैले व्यवसायीहरुको समस्यालाई सुक्ष्मरुपमा हेरिरहेको छु । यदी व्यवसायी साथीहरुले मलाई जिताउनु भएको खण्डमा म व्यवसायीहरुको समस्या हल गर्न सदैव लागिरहनेछु ।
‘राजस्वको टोली आयो भनेपछि सटर तान्नुपर्ने अवस्थाको अन्त्य गर्छु’
म गुणराज पौडेल । वाणिज्यतर्फका उपाध्यक्षमा उमेदवार दिएको छु । मेरो क्र।सं १ हो । म न्यु मनकामना कपडा पसलको सञ्चालक हो । म कपडा व्यवसायी संघका निवर्तमान अध्यक्ष पनि हो । दुई कार्यकाल चितवन उद्योग वाणिज्य संघमा सर्वाधिक मत ल्याएर सदस्य भइसकेको छु ।
बजार अनुगमन समितिको जिम्मेवारी निर्वाह गरेँ । क्युवानिज क्लब अफ चितवनका पूर्वअध्यक्ष, सहकारी महानगर सञ्जालका सदस्य भएर काम गरिसकेको छु । लोक कल्याणकारी सहकारी संस्थाको कोषाध्यक्ष भएँ । लामो समय वित्तीय क्षेत्रमा बिताएँ ।
कपडा व्यवसायमा २५ वर्ष, त्यसअघि करिब पाँच वर्ष भाँडावर्तन व्यवसायमा थिएँ । बीचमा विदेश गएर फर्किएपछि कपडा व्यवसायमा आवद्ध भएको हुँ ।
देश विदेश भ्रमणको राम्रो अनुभव छ । शिरीष पन्तको समूहमा युवा जोश छ । त्यसलाई सघाउन मैले पनि समूहमा बसेर उमेदवारी दिएको हुँ । विभिन्न सामाजिक संघसंस्थामा पनि प्रतिनिधित्व गरेर काम गरेको अनुभव छ । अध्यक्षमा पन्त र उहाँको टिमलाई जिताउनुहुनेछ भन्ने मैले विश्वास गरेको छु । मलाई मतदाताहरुले जिताए भने राजस्व आयो भनेपछि व्यवसायीहरु सटर झारेरै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न लाग्छु । म सुशासनको पाटोमा कटिबद्ध भएर लाग्नेछु ।
‘सबैको साझा समस्यालाई समाधान गर्न पहल गर्छु’ : जनक पौडेल
म जनक पौडेल । उद्योगतर्फको उपाध्यक्षमा मेरो उमेदवारी छ । मेरा क्र।सं २ हो । म होटल व्यवसायमा आवद्ध छु । होटल व्यवसायी संघ चितवनको पूर्वउपाध्यक्ष तथगा हाल सल्लाहकारको पदमा रहेको छु । नेपाली युवा व्यवसायी उद्यगी मञ्चको सक्रिय सदस्य पनि हो । लामो समयदेखि लायन्स क्लबमा आबद्ध छु ।
म वैष्णव मिष्ठान्न भण्डारको प्रोपाइटर हो । १८ वर्षको उमेरदेखि व्यवसायमा छु । अहिले ४२ वर्षको भएँ । यही पेसामा सङ्घर्षरत रहेको छु ।
वस्तुगततर्फबाट सदस्य पदमा निर्वाचित भएर मैले काम गरेँ । यसअघि एक पटक वाणिज्यतर्फको उपाध्यक्ष पदमा थोरै मतले पछि परेको थिएँ । अहिले उद्योगतर्फबाट उपाध्यक्षको उमेदवारी रहेको छ । सबैको साझा समस्यालाई समाधान गर्नको लागि उपाध्यक्ष पदमा उमेदवारी दिएको हुँ । मलाई मतदाता व्यवसायी साथीहरुले जिताए नारायणगढलगायतका बजारलाई व्यवस्थित बनाउन पहल गर्छु । सबैको साझा समस्यालाई हल गर्न निरन्तर लागिरहन्छु ।
व्यवसायीको हक, हित र सुरक्षाका लागि संस्थागत लडाइँ लड्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा आएको छु, जिताउनुहुनेछ भन्ने पूर्णरुपमा विश्वाससमेत गरेको छु । जिल्लाभरिका होटल तथा पर्यटन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न नीतिगत पहल, व्यवसायीमैत्री वातावरण निर्माण, कर तथा प्रशासनिक झन्झट न्यूनीकरण, अनुभवी व्यवसायीको सम्मान र युवालाई उद्यमशीलतामा आकर्षित गर्ने स्पष्ट एजेन्डा मेरा छन् ।
‘व्यवसायीहरुका दबेका मुद्दामा काम गर्छु’ : शङ्करप्रसाद घिमिरे
म शङ्करप्रसाद घिमिरे । वस्तुगततर्फको उपाध्यक्ष पदमा उमेदवार दिएको छु । मेरो क्रसं।२ रहेको छु । म ३० वर्षदेखि फेन्सी क्षेत्रमा, पाँच वर्षदेखि होटल व्यवसायमा आबद्ध छु । म डायमण्ड फेन्सी, होटल डायमण्डको सञ्चालक हुँ । फेन्सी व्यवसायी संघ चितवनमा निवर्तमान अध्यक्ष हुँ । कमलनगर बजार व्यवस्थापन समितिको संस्थापक अध्यक्ष, श्री गणेश बजार व्यवस्थापन समितिको पूर्वउपाध्यक्ष, रोटरी क्लब अफ गैँडाकोटको पूर्वअध्यक्ष, भारतमैत्री संगठनमा पनि छु ।
१५ वर्षदेखि विभिन्न संघसंस्थामा व्यावसायिक हितमा काम गर्दै आएको छु । उद्योग वाणिज्य संघमा एक कार्यकाल कार्यसमिति सदस्यको रुपमा काम गरेको अनुभव छ । व्यवसायीहरुका दबेका मुद्दामा काम गर्नको लागि नै मेरो उमेदवारी हो । म शिरिष पन्त समूहबाट उमेदवारी दिएको हुँ । पन्तले उठाउनुभएको हरेक मुद्दाहरु मेरो पनि हो । उहाँले जुन प्रतिबद्धता गर्नुभएको छ, त्यो पूरा गर्न हाम्रो टिम नै लाग्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij