चितवन : चितवन उद्योग वाणिज्य संघको यही पुष १९ र २१ गते हुने ५९ औँ वार्षिक साधारण सभा एवम् अधिवेशनमा दुई समूह प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा चिरञ्जीवी सुवेदी र शिरीष पन्तको उमेदवारी परेको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली उद्योगतर्फ उपाध्यक्षमा अशोक अधिकारी, वाणिज्यतर्फ उपाध्यक्षमा नारायण प्रधान, वस्तुगततर्फ उपाध्यक्षमा राजन पियालगायतको उमेदवारी रहेको छ ।
पन्त समूहबाट लोकबहादुर रानाभाट सतिशले वरिष्ठ उपाध्यक्षमा, गुणराज पौडेलले उपाध्यक्षमा, जनक पौडेलले उपाध्यक्षमा यस्तै शंकर घिमिरेले उपाध्यक्षमा उमेदवारी दिएका छन् ।
‘चितवनको विकासमा निजी क्षेत्रको भूमिका बढाउँछु’
म चिरञ्जीवी सुवेदी । चितवन उद्योग वाणिज्य संघमा अध्यक्ष पदमा उमेदवारी दिएको छु । भरतपुर १० निवासी म हाल संघको वरिष्ठ उपाध्यक्ष पनि हुँ । म सुवेदी खाद्य उद्योगको प्रोपाइटर हुँ । म संघको कार्यसमितिमा २०६० देखि लगातार रहेको छु । २०६० देखि २०७२ सम्म कार्यसमिति सदस्य भएर काम गरेँ ।
मैले २०७२ देखि २०७४ सम्म तृतीय उपाध्यक्ष, २०७४–२०७६ सम्म द्वितीय उपाध्यक्ष, अनि प्रथम उपाध्यक्ष हुँदै हाल २०८० देखि २०८२ सम्म वरिष्ठ उपाध्यक्ष भएर काम गरेको छु । धेरै पटक मेला महोत्सवको विभिन्न समितिमा रहेर संयोजकको भूमिका निभाएको छु ।
यसबाहेक म नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन आजीवन सदस्य, नेपाल अर्बुद रोग निवारण संस्था चितवनको कार्यसमिति सदस्य भएर पनि काम गरेको छु । लायन्स क्लब अफ चितवनको पूर्व अध्यक्ष, सामुदायिक सेवा केन्द भरतपुरको अध्यक्ष भएर काम गरिसकेको छु । क्यान्सर सेवा समिति–चितवन, नेपाल नेत्रज्योति संघ–चितवन, विभिन्न विद्यालयमा सञ्चालक समितिमा रहेर मैले सक्रिय भूमिका निभाएँ ।
मलाई मतदाताहरुले अध्यक्षमा निर्वाचित गरेमा चितवनको विकासमा निजी क्षेत्रको भूमिका बढाउँछु । यसबाहेक आन्तरिक राजस्व कार्यालय भरतपुरमा स्थापित राजस्व परामर्श केन्द्रको पुनस्र्थापना गरी थप प्रविधिमैत्री बनाउने र संघको सदस्यता राहत कोषमा क्षतिपूर्ति र राहतको रकम वृद्धि गर्दै लैजान्छु ।
स्वास्थ्यसेवा तथा व्यावसायिक प्रतिष्ठानहरुबाट प्राप्त छूट सुविधालाई निरन्तरता दिन्छु । थप सुविधाका लागि अन्य प्रतिष्ठानहरुसँग पहल गर्छु । संघ परिसरमा अवस्थित स्थायी प्रदर्शनी केन्द्रमा नियमितरुपमा विभिन्न वस्तुगत संघका उत्पादित वस्तु तथा सेवा प्रवद्र्धन गर्न प्रदर्शनीहरु आयोजना गर्ने, तीन तहको सरकारसँग समन्वय गरी उद्यमशीलता र नवप्रवर्तनलाई बढवा दिने, संघ र अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघहरुसँग भगिनी सम्बन्ध कायम गरी व्यवसायीको क्षमता अभिवृद्धि र आर्थिक विकासका कार्यक्रम नियमित सञ्चालन गर्न सक्रिय भूमिका खेल्छु ।
समुद्र पार आयात–निर्यातलाई सहज बनाउँछु । चितवनमै नापतौल कार्यालयको शाखा स्थापना गर्न पहल गर्छु । मेला–महोत्सवलाई व्यवस्थित र संघको सिफारिसमा मात्र गर्ने व्यवस्थाको लागि पहल गर्दै व्यावसायिक संस्थाबाट मेला–महोत्सव आयोजना गर्न निरूत्साहित गर्ने, सातवटै स्थानीय तहका मुख्य बजार केन्द्रहरुमा राजस्व तथा कर सचेतना कार्यक्रम आयोजना गर्छु । त्यसैले हजुरहरुले अत्यधिक मत दिएर विजयी गराउनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।
‘व्यवसायिक हकहितमा सदैव आवाज उठाउँछु’ : राजेन्द्र ओली
म राजेन्द्र ओली । चितवन उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएको छु । म भरतपुर १ मेनरोड निवासी हुँ । मेनरोडमा नै ओली प्लास्टिक सेन्टर सञ्चालन गरेको छु । म २०६८ देखि संघको कार्यसमिति सदस्य पदमा आबद्ध रहेको छु । २०७८ देखि २०८० सम्म द्वितीय उपाध्यक्ष र हाल २०८० देखि २०८२ सम्म प्रथम उपाध्यक्ष भएर संघमा काम गरिसकेको छु ।
चितवन महोत्सवमा विभिन्न समितिमा रहेर संयोजकको भूमिका निभाइसकेको छु । यसबाहेक आमन्त्रित सदस्य बैङ्क, वित्त तथा बिमा समिति, नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँमा म आबद्ध छु । प्लास्टिक व्यवसायी संघको पूर्वअध्यक्ष, रोटरी क्लब अफ नारायणगढको पूर्वअध्यक्ष, नेपाल भारत मैत्री संघ, चितवन, नारायणी कला मन्दिर, नारायणगढ, सुइरो कार्यक्रम, नारायणगढ बस व्यवस्थापन तथा टोल सुधार समितिलगायत दर्जनौ संघसंस्थामा आबद्ध रहेर काम गरिसकेको छु ।
मलाई मतदाताले वरिष्ठ उपाध्यक्ष पदमा विजयी गराउनु भए व्यावसायिक हकहितमा सदैव आवाज उठाउँछु । हाम्रो समूहबाट भएका प्रतिबद्धताहरु पूरा गर्न सदैव लाग्नेछु । स्थानीय तहसँग समन्वय र सहजीकरण गर्नको लागि म आफ्नो भूमिका बढाउनेछु । यसबाहेक अन्य विकास निर्माण, कर प्रणाली, व्यावसाहिक सवालका विषयमा सदैव आवाज उठाउनेछु ।
‘चितवनको पर्यटन क्षेत्रलाई अगाडि बढाउन भूमिका निभाउँछु’ : अशोक अधिकारी
म अशोक अधिकारी । चितवन उद्योग वाणिज्य संघमा उद्योगतर्फ उपाध्यक्ष पदमा उमेदवारी दिएको छु । म विशेष गरी होटल व्यवसायी हुँ । अशोका भान्साघरको सञ्चालक हुँ । भरतपुर महानगरपालिका वडा नं २ निवासी म उद्योग वाणिज्य संघमा २०७४ सालदेखि कार्यसमिति सदस्य बनेदेखि हालसम्म कार्यरत रहेको छु । २०७४–२०७६ मा म संघको पहिलो पटक कार्यसमिति सदस्य भएको हुँ । हाल २०८०–२०८२ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएको थिए । हाल उद्योगतर्फ उपाध्यक्ष पदमा (क्रसं १) मा मैले उमेदवारी दिएको छु । चितवन महोत्सवको विभिन्न समितिमा संयोजक भएर काम गरेको अनुभव मसँग छ । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा चितवन, नेपाल हृदयरोग निवारण संस्था चितवन, लायन्स क्लब अफ वागेश्वरी, नेपाल क्यान्सर सेवा समिति, क्षयरोग निवारण प्रतिष्ठानलगायत दर्जन बढी संस्थामा म आबद्ध रहेर सामाजिक क्षेत्रमा काम गरेको छु । सामाजिक काममा मेरो लामो अनुभव छ । मलाई संघमा मतदाताले निर्वाचित गरेको खण्डमा चितवनको पर्यटन क्षेत्रलाई अगाडि बढाउन मैले सक्रिय भूमिका नभाउनेछु । यसबाहेक म चिरन्जीवी सुवेदी समूहबाट उमेदवार दिएको हुनाले उहाँले गर्नुभएको प्रतिबद्धता पूरा गर्न म हमेसा लाग्नेछु ।
‘स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न पहल गर्छु’ : नारायण प्रधान
म नारायण प्रधान । चितवन उद्योग वाणिज्य संघमा वाणिज्य तर्फ उपाध्यक्ष पदमा उमेदवारी दिएको छु । मेरो क्रमसख्या २ हो । प्रधान डिष्ट्रिब्यूटर्सको प्रोपाइटर हुँ । भरतपुर महानगरपालिका–१, मेनरोड, नारायणगढ निवासी म २०६८ देखि संघको कार्यसमितिमा रहेर काम गर्दै आइरहेको छु । २०८० सम्म म संघको कार्यसमिति सदस्य भएर काम गरेँ ।
विभिन्न समितिमा संयोजक भएर संघमा सक्रिय भूमिका खेलेँ । हाल २०८०–२०८२ मा तृतीय उपाध्यक्ष (संयोजक, वस्तुगत/कर्पोरेट तथा क्षेत्रीय संघ समन्वय समिति) भएको छु । सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिको संयोजक भएर मैले काम गरिसकेको छु ।
सुइरो कार्यक्रम नारायणगढ, नारायणी कला मन्दिर नारायणगढ, चितवन रोट्¥याक्ट क्लब चितवन, मदिरा तथा प्रोभिजनल व्यवसायी संघ राइनो क्लब, नारायणगढ रामेश्वर पुस्तकालय क्षेत्रपुरलगायत दर्जन बढी संघसंस्थामा आबद्ध भएर सामाजिक क्षेत्रमा काम गरेको छु । मलाई मतदाताले निर्वाचित गरेको खण्डमा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न पहल गर्न लाग्नेछु । यसबाहेक म आफू सुवेदी प्यानलबाट उपाध्यक्षमा उमेदवार बनेको हुनाले उहाँको प्रतिबद्धता पूरा गर्न लाग्नेछु ।
‘व्यवसायीमाथि दुःख दिने प्रवृत्तिलाई निरुत्साहित गर्छु’ : राजन पिया
म राजन पिया । चितवन उद्योग वाणिज्य संघको वस्तुगततर्फ उपाध्यक्ष पदमा उमेदवार दिएको छु । मेरो क्रंस १ हो । म युनाइटेड मोटर्स प्रालिको प्रोपाइटर हुँ । भरतपुर महानगरपालिका–२ निवासी म २०६४ देखि कार्यसमिति पदमा रहेर काम गरेको अनुभव छ । २०७८–२०८० सम्म कार्यसमिति सदस्य पदमा रहेर काम गरेँ । चितवन महोत्सवमा विभिन्न समितिमा संयोजक भएर काम गर्ने अवसर मलाई मिल्यो ।
चितवन अटोमोबाइल डिलर एसोसियसन, वागमती अटोमोबाइल एसोसियसन, रोटरी क्लब अफ चितवन, स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, भरतपुर, चितवन, रोटरी ग्लोबल ग्रान्ट प्रोजेक्ट (चितवन रोटरी क्लब), राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि., नारायणी कला मन्दिर, रामेश्वर पुस्तकालय, गौरेश्वर मन्दिर, रोटरी करूणालय वृद्धाश्रममा रहेर काम गरेको अनुभव मसँग छ ।
मलाई मतदाताहरुले उद्योग वाणिज्य संघको वस्तुगततर्फ उपाध्यक्ष पदमा निर्वाचित गरेको खण्डमा व्यवसायीलाई दुःख दिने प्रवृत्तिलाई निरुत्साहित गर्न पहल गर्छु । यसबाहेक व्यवसायिक हकहित, कर प्रणाली सुधार तथा कर सचेतनालगायतका काममा मैले आफ्नो भूमिका निभाउँछु । म सुवेदी प्यानलबाट उमेदवार बनेको हुनाले उहाँको प्रतिबद्धता पूरा गर्न म सदैव अघि बढ्नेछु ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij