Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

संविधान पुनर्लेखन होइन, परिमार्जन चाहिएको हो : आङदेम्बे

संविधान पुनर्लेखन होइन, परिमार्जन चाहिएको हो : आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन्।

संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका अप्ठ्याराहरूलाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने आङदेम्बेले बताए। पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउन खोज्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ। यस्ता पात्र र प्रवृत्तिहरूप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत रहनुपर्ने उनले उल्लेख गरे।

‘हामी अहिले संविधानको पुनरावलोकन गर्ने ठाउँमा आइपुगेका छौँ,’ काँग्रेस नेता आङदेम्बेले भने, ‘यो नयाँ संविधानको खोजी वा पुनर्लेखन नभई १० वर्षको अभ्यासमा देखिएका कमजोरीहरू सुधार्न गरिने परिमार्जन हो।’ उनले दशकौँ लामो लडाइँ र ठुलो बलिदानबाट यो संविधान प्राप्त भएको बताए। ‘अब आउने पुस्ताले फेरि अधिकारका लागि उही संघर्ष दोहोर्‍याउनु नपरोस् भन्नका लागि पनि प्राप्त अधिकारको रक्षा गर्नु अनिवार्य छ,’ उनले थपे।

उनले भावनामा बहकिएर कसैको ‘इमोसनल ब्ल्याकमेल’ मा नपर्न समेत आग्रह गरेका छन्। पहिचान र अधिकारको सुनिश्चितता लोकतन्त्र र लोकतान्त्रिक पार्टीबाट मात्र सम्भव हुने दाबी गर्दै उनले नेपाली काँग्रेसले नै सबैको अस्तित्व र इतिहासलाई संस्थागत रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गरे।

लोकतन्त्रको रक्षाका लागि काँग्रेसका कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट