काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको तनावपूर्ण छलफलका क्रममा मुर्छा परेर ढलेका बाग्मती प्रदेश संसदीय दलका प्रमुख जगन्नाथ थपलिया अझै अस्पतालमै छन् ।उनको स्वास्थ्यमा सुधार आउनुको साटो समस्या थपिँदै गएको छ ।
ओली निवासबाट साउन १९ गते मध्यरात भक्तपुरको ठीमी अस्पताल लगिएका थपलियालाई त्यहाँबाट बिहान डिस्चार्ज गरिएको थियो । तर सञ्चो नभएपछि सोही दिन वीर अस्पताल भर्ना गरियो । थपलिया अझै पनि वीरमै उपचाररत छन् । उनलाई वीरको क्याबिनमा राखिएको छ ।
छोरा सुरजका अनुसार जेएनको ब्लड प्रेसर नियन्त्रणमा आए पछि सुगर अझै नियन्त्रणबाहिर छ । गुण्डुको घटनाअघि उनलाई प्रेसरको समस्या थिएन तर सुगरको औषधि भने उनि नियमित खाइरहेका थिए । गुण्डु घटनापछि सुगर ह्वात्तै बढेको हो ।
आजबाट उनलाई कामज्वरो पनि आउन थालेको छ । ४–४ घन्टामा कामज्वरो आइरहेको सुरजले जानकारी दिए । उनी राम्ररी बोल्न पनि सकिरहेका छैनन् भने मोबाइल पनि चलाएका छैनन् । चिकित्सकको सिफारिस अनुसार अहिले साँझ उनको एमआरआई गरिएको छ । कल्चरको रिपोर्ट पनि आइसकेको छैन ।
थपलियालाई भेट्न आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्पताल पुगेकी थिइन् । उनले थपलियाको स्वास्थ्यअवस्थाबारे जानकारी लिइन् ।
अध्यक्ष ओली भने अहिलेसम्म गएका छैनन् भने फोन गरेर चासो पनि नराखेको परिवारका सदस्यले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij