Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले विद्युतमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । जनतामाथि विद्युतको करको भार थप्नुको सट्टा डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता उठाउन सरकार तत्काल सक्रिय हुनुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले कृषकको सिँचाइ र नागरिकले खानेपानी लिफ्ट गर्न प्रयोग गर्ने विद्युतमा समेत १३ प्रतिशत भ्याट लगाउनु गलत भएको बताएका छन्। उनका अनुसार आफू ऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कृषकको सिँचाइमा लाग्ने डिमान्ड शुल्क छुट गरी विद्युत् महसुल प्रतियुनिट करिब ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको थियो। त्यस्तै, सामुदायिक खानेपानी लिफ्टमा डिमान्ड शुल्क छुट गरी प्रतियुनिट करिब ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसामा झारिएको उनले उल्लेख गरेका छन्।

‘कृषि सिँचाइका लागि विद्युत् निःशुल्कै गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ,’ घिसिङले भनेका छन्। घिसिङले कृषकको उत्पादन लागत निरन्तर बढिरहेको अवस्थामा विद्युतमा समेत कर थपिँदा किसान थप मारमा पर्ने बताएका छन्।

उनका अनुसार मल, बीउ, श्रम तथा कृषि यन्त्रको भाडालगायतका लागत बढिरहेका छन् भने किसानले उत्पादन गरेको वस्तुको मूल्य भने अपेक्षित रूपमा पाउन नसकेको अवस्था छ। लिफ्ट सिँचाइबिना धेरै ठाउँमा खेती गर्न सम्भव नभएको र गाउँगाउँमा पानी लिफ्ट गरेर खानेपानीको व्यवस्था गर्नुपर्ने भएकाले त्यस्ता क्षेत्रमा विद्युतमा कर लगाउनुको सट्टा सहुलियत दिनुपर्ने उनले बताएका छन्।

ग्यास अभावको अवस्थामा विद्युतमा सहुलियत दिएर इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले उल्टै घरायसी विद्युतमा भ्याट लगाएको भन्दै घिसिङले असन्तुष्टि जनाएका छन्। उनले ग्यास सिलिन्डरमा निर्भरता घटाउँदै सरकारले घरघरमा इन्डक्सन चुल्हो प्रयोग बढाउने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन्।

‘देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने, यो कस्तो विडम्बनारु’ भन्दै उनले विद्युत् खपत बढाउने नीति आवश्यक रहेको बताएका छन्। घिसिङका अनुसार नेपालका विद्युतीय पूर्वाधार अहिले इन्डक्सन चुल्होको प्रयोग तथा विद्युतीय सवारीसाधन चार्जिङ बढे पनि त्यसलाई धान्न सक्ने अवस्थामा छन्। केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता नेपाल विद्युत् प्राधिकरणले विकास गरिसकेको उनको दाबी छ।

उनले आफूले घरको भान्सादेखि सवारीसाधनसम्म विद्युत् प्रयोग गर्दै आएको उल्लेख गर्दै मुलुकमा पनि विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन्। घिसिङले देशभित्रै उत्पादित विद्युत् अधिकतम रूपमा खपत गर्न सके विदेशी ग्यास तथा पेट्रोलियम पदार्थमा निर्भरता घट्ने, विदेशी मुद्रा सञ्चिति बढ्ने र मुलुक आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्ने बताएका छन्।

उनले विद्युत् खपत बढाउने वातावरण बनाउनुपर्नेमा करको भार थपेर उपभोक्तालाई निरुत्साहित गर्न नहुने तर्क गरेका छन्। ‘अब सबैको घरघर विद्युतबाट चलाऔँ। देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढ्छ। विदेशी मुद्रा सञ्चिति बढ्छ,’ घिसिङले भनेका छन्। अन्त्यमा उनले विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गर्दै त्यसको विकल्पमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगकर्ताबाट उठ्न बाँकी अर्बौं रुपैयाँ बक्यौता असुल गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट