Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा भोटेकोसी बाढीका ७८ शव संकलन, फोटोमार्फत पहिचान गरिँदै

चितवनमा भोटेकोसी बाढीका ७८ शव संकलन, फोटोमार्फत पहिचान गरिँदै

चितवन : रसुवाको भोटेकोसी बाढी–पहिरोमा परी ज्यान गुमाएकामध्ये थप २५ जनाको शव शुक्रबार चितवनमा संकलन गरिएको छ । खोज तथा उद्धारका क्रममा संकलित शव भरतपुर ल्याएर पहिचान प्रक्रिया अघि बढाइएको हो ।

हालसम्म संकलन भएका ७८ वटा शव भरतपुरस्थित उद्योग संघको हलमा राखिएको होटल व्यवसायी संघ चितवनका महासचिव कृष्ण महतोले जानकारी दिनुभयो । आफन्तलाई शव पहिचान गर्न सहज होस् भनेर हलमा शवका फोटो डिस्प्ले गरी देखाउने व्यवस्था गरिएको छ । हालसम्म दुई वटा शवको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार बाढी–पहिरो गएको दुई–तीन दिन बितिसकेकाले कतिपय शवको अवस्था बिग्रिएको छ । जसका कारण प्रत्यक्ष रूपमा शव हेरेर पहिचान गर्न कठिनाइ भइरहेको छ ।

शव पहिचानका लागि डीएनए परीक्षण, फिङ्गरप्रिन्ट, ट्याटु तथा शरीरमा रहेका अन्य पहिचान खुल्ने चिह्नलाई आधार बनाइने प्रहरीले जनाएको छ । बाढीमा शरीरका विभिन्न भाग छुट्टिएका अवस्थामा समेत मानव अवशेष फेला परेका छन् । हालसम्म संकलन गरिएका करिब ५४ वटा मानव शरीरका टुक्रा तथा अवशेषलाई समेत वैज्ञानिक विधिबाट परीक्षण गरी सम्बन्धित व्यक्तिसँग मिलान गर्ने तयारी गरिएको छ ।

भोटेकोसी बाढी–पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता रहेकाले चितवनमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । प्रहरीका अनुसार करिब ६ सय जनाको हाराहारीमा बेपत्ताको खोजी भइरहेको छ । खोज तथा उद्धारका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट टोली परिचालन गरिएको छ ।

काठमाडौंको १० जनाको उद्धार टोली चितवन आइपुगेको छ भने बागमती प्रदेशबाट समेत थप उद्धार टोली परिचालन गरिएको डीएसपी पौडेलले जानकारी दिनुभयो ।

यसैबीच शव पहिचानका लागि चितवन आएका आफन्तलाई आवश्यक सहजीकरण तथा व्यवस्थापनको काम पनि भइरहेको छ । आफन्तका लागि खाना तथा बसोबासको व्यवस्था जिल्लाका विभिन्न होटलमा गरिएको होटल व्यवसायी संघ चितवनका महासचिव कृष्ण महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट