Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

चाडपर्वको अवसरमा पोल्ट्री व्यवसायीबीच शुभकामना साटासाट

चाडपर्वको अवसरमा पोल्ट्री व्यवसायीबीच शुभकामना साटासाट

 

 भरतपुर  : नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको आयोजनामा बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आज भरतपुरमा आयोजित कार्यक्रममा पोल्ट्री व्यवसायीहरूले आपसी सद्भाव, एकता र व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
संघका अध्यक्ष महेश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष भुवनलाल जोशी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संघका उपाध्यक्ष जनार्दन अधिकारीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि जोशी, निवर्तमान अध्यक्ष एवं भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाट, पूर्वअध्यक्षहरू कृष्णहरि लोहनी, तेजनारायण पाण्डे, जयकृष्ण सापकोटा र रामकृष्ण अर्याल तथा सदस्यहरूको प्रतिनिधित्व गर्दै मिलनजंग थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले नेपाली चाडपर्वले समाजमा आपसी आत्मीयता, सद्भाव, भाइचारा र मेलमिलापको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले पोल्ट्री व्यवसायीबीच एकता, सहकार्य र व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा संघको स्थापनादेखि हालसम्म भएका गतिविधि तथा उपलब्धिहरूको समेत स्मरण गरिएको थियो। वक्ताहरूले आगामी दिनमा संघलाई थप प्रभावकारी बनाउँदै व्यवसायीका हकहित र व्यावसायिक प्रगतिका लागि एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
चाडपर्वले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली र पोल्ट्री व्यवसायीको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस् भन्दै सबैको व्यावसायिक उन्नति र सफलताको कामनासमेत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष पोखरेलले धन्यवाद ज्ञापनसहित सभा विसर्जन गरेका थिए। कार्यक्रमको सञ्चालन संघका महासचिव तुलसीप्रसाद सुवेदीले गरेका थिए।
कार्यक्रममा संघका कार्यसमिति पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij