Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

मध्यवर्ती क्षेत्रमा बाघको जोखिम बढ्दै, स्थानीय बासिन्दा असुरक्षित

मध्यवर्ती क्षेत्रमा बाघको जोखिम बढ्दै, स्थानीय बासिन्दा असुरक्षित

चितवन  : कोर क्षेत्रमा ठाउँको अभाव र भाले बाघहरूबीचको आपसी प्रतिस्पर्धाका कारण युवा तथा प्रजनन् उमेरका बाघहरू सुरक्षित बासस्थानको खोजीमा मध्यवर्ती क्षेत्र र मानव बस्तीतर्फ फैलिएका जनाइएको छ ।मध्यवर्ती क्षेत्रमा भएको बासस्थान सुधार र घाँसे मैदानको व्यवस्थापनले गर्दा प्रजनन् गर्ने पोथी बाघको सङ्ख्यासमेत त्यहाँ बढेको पाइएको छ ।

अध्ययनमा स्पष्ट पारिएको छ, ‘पोथी बाघहरू मध्यवर्ती क्षेत्रमा बढी देखिए र तिनको सक्रियता क्षेत्र पनि त्यहीँ बढ्यो, जबकि भाले बाघहरू संरक्षित क्षेत्र बाहिर धेरै टाढासम्म पुगेका थिए ।’

मध्यवर्ती क्षेत्रमा गम्भीर बन्दै मानव-बाघ द्वन्द्व

बाघको सिकार प्रजाति (जस्तै मृग र चित्तल) को घनत्वमा भएको वृद्धिसँगै बाघहरूको विचरण गर्ने दूरी र घरको दायरा खुम्चिन पुगेको छ। यस बारेमा अध्ययनले उल्लेख गरेको छ, ‘सन् २०१८ देखि २०२२ को बीचमा भाले र पोथी दुवैको विचरण दायरा उल्लेखनीय रूपमा घटेको छ । यद्यपि, पोथी बाघहरू मध्यवर्ती क्षेत्रमा सीमित हुन थालेका छन् भने भाले बाघहरू निकुञ्जको सिमाना नाघेर टाढाका वनहरूसम्मै पुग्ने गरेका छन् ।’

बाघको यो भौगोलिक फैलावटसँगै स्थानीय बासिन्दा र बाघबीचको द्वन्द्व खतरापूर्ण रूपमा उक्लिएको अध्ययनले चेतावनी दिएको छ । अध्ययन अवधिमा मानिसमाथि भएका २८ वटा आक्रमणमध्ये ८६ प्रतिशत जङ्गलभित्रै भएका छन् र त्यसमध्ये ७१ प्रतिशत घटना प्राणघातक साबित भएका छन् ।’

दाउरा-घाँस काट्न र गाईवस्तु चराउन मध्यवर्ती क्षेत्रका सामुदायिक वन जाने स्थानीयहरू सबैभन्दा बढी जोखिममा परेका छन् ।
‘मानिसमाथि भएका अधिकांश आक्रमणहरू जङ्गलभित्र, उच्च बाघ घनत्व भएका क्षेत्रहरू नजिकै भएका छन् । अध्ययनमा भनिएको छ, घाँस काट्न, दाउरा लिन वा गोठपालतु जनावर चराउन मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा जाने मानिसहरू अत्यधिक जोखिममा परेका छन् ।

त्यस्तै १४९ वटा घरपालुवा जनावर पनि बाघको शिकार बनेका छन्, जसले स्थानीय कृषक र पशुपालकहरूको जनजीवनमा ठूलो आर्थिक क्षति पुर्याएको छ ।

अध्ययनले बाघ संरक्षणको सफलतालाई स्थानीय मानव समुदायको सुरक्षासँग जोडेर हेर्नुपर्ने आवश्यकता अध्ययनले औँल्याएको छ । यस सन्दर्भमा अध्ययनमा विशेष जोड दिइएको छ, ‘स्थानीय मानिसहरूमाथि बाघको आक्रमणले पार्ने सामाजिक-आर्थिक प्रभावलाई अब संरक्षण योजनाभित्रै अनिवार्य रूपमा समायोजन गरिनुपर्छ ।’

दीर्घकालीन संरक्षणका लागि कोर क्षेत्र मात्र नभई मध्यवर्ती क्षेत्रको व्यवस्थित सदुपयोग, स्थानीय बासिन्दाको वनमाथिको निर्भरता घटाउन इकोटुरिजम (वातावरण पर्यटन) को प्रवर्द्धन र वैकल्पिक आयआर्जनका कार्यक्रमहरू सञ्चालन गर्नु अपरिहार्य देखिएको अध्ययनमा उल्लेख छ ।

बाघ र मानवबीचको सहअस्तित्वलाई बचाउन सुरक्षात्मक उपाय र राहत वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउनुपर्ने अध्ययनले औँल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट