चितवन : कुनै समय मेला–महोत्सव, राजनीतिक कार्यक्रम र चुनावी गतिविधिले चहलपहल हुने भरतपुर महानगरपालिका–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको परिसर अहिले शोक र पीडामा रहेका आफन्तको भीडले भरिएको छ।
रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा देशका विभिन्न जिल्लाबाट मानिसहरू भरतपुर आइपुगेका छन्। उनीहरूको एउटै चाहना छ—‘हाम्रा मान्छे जीवित भेटिऊन्, नभए शव भए पनि पहिचान होस्।’
नारायणी र त्रिशूली नदी किनारबाट संकलन गरिएका २३३ शवमध्ये हालसम्म चारवटाको मात्रै पहिचान भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
लामो समयदेखि शव व्यवस्थापन हुन नसक्दा कतिपय शव सड्न थालेका छन्। चितवनको उच्च तापक्रम र आर्द्रताका कारण शवको अनुहार तथा शारीरिक बनावट बिग्रिँदै गएपछि पहिचानमा थप कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।
वीरगन्ज महानगरपालिका–२२ का अली मोहम्मद मिया २२ वर्षीय छोरा साबुदिन मन्सुरीको तस्बिर बोकेर भरतपुरका अस्पताल र शवगृह धाइरहनुभएको छ। रोजगारीका लागि रसुवाको एक ग्यारेजमा मेकानिकको काम गर्न गएका साबुदिन बाढीपछि ग्यारेज सञ्चालक र अन्य पाँच जनासँगै सम्पर्कविहीन भएका थिए । ‘छोराको केही खबर पाए हुन्थ्यो’ भन्दै उहाँ दिनभर शवगृह वरिपरि भौँतारिरहनुभएको छ। तर अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन।
धादिङको धुनिबेँसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य पनि सम्पर्कविहीन ११ जना चालक तथा मजदुरको खोजीका लागि भरतपुर आउनुभएको छ। सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न नसकिएको र भरतपुर ल्याइएका कतिपय शव क्षतविक्षत भएकाले तस्बिरबाट पहिचान गर्न कठिन भएको उहाँले बताउनुभयो।
सप्तरी, बाँके, नुवाकोट, कास्की लगायतका जिल्लाबाट समेत आफन्तको खोजीमा परिवारजन भरतपुर आएका छन्। उनीहरू शवका तस्बिर हेर्दै र शरीरमा भएका चिन्ह, ट्याटु तथा हुलिया मिलाउँदै आफन्तको खोजी गरिरहेका छन्।
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ३१ वर्षीय सिभिल इन्जिनियर अभिषेक आचार्यका आफन्तले उनी सुरुङभित्रै फसेको हुन सक्ने आशंका गरेका छन्। पोखराबाट भरतपुर आएका आफन्तले प्रतिकूल मौसमका बाबजुद जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारलाई तीव्र बनाउन माग गरेका छन्।
त्यस्तै, मानसरोवर यात्राका लागि टिमुरे पुगेका दुई भारतीय नागरिकसमेत बाढीपछि सम्पर्कविहीन रहेको उनीहरूका नेपाली साथीले बताएका छन्। उनीहरूको खोजीका लागि आफन्त तथा साथीहरू भरतपुरका शवगृह र अस्पतालमा पुगिरहेका छन्।
नदी किनारमा थप शव तथा अवशेष फेला पर्ने क्रम जारी छ। तर अधिकांश शवको अनुहार र शारीरिक बनावट बिग्रिएका कारण पहिचान चुनौतीपूर्ण बनेको छ। शव तथा बेपत्ता व्यक्तिको खोजीमा स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएका छन्। विभिन्न सामाजिक संघसंस्थाले समेत सहयोग गरिरहेका छन्।
बाढी गएको दिनदेखि आफन्तको प्रतीक्षामा रहेका परिवारका लागि हरेक शव र तस्बिर आशा र पीडाको नयाँ क्षण बनेको छ। भरतपुरमा जम्मा भएको यो भीड आफन्त भेटिने आशा र अन्तिमपटक भए पनि उनीहरूको अवस्था थाहा पाउने पीडादायी प्रतीक्षामा छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij