चितवन : चितवनमा भेटिएका २ सय ७२ शवमध्ये १ सय ६२ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले पत्रकार सम्मेलनमार्फत १० शव आफन्तलाई जिम्मा लगाइसकिएको र बाँकी शवमध्ये १ सय ६२ शव आजै जमिनमुनि व्यवस्थापन गर्ने तयारी रहेको जानकारी दिएका हुन्।
प्रजिअ अर्यालका अनुसार सबै शवबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ। हालसम्म दुई सयभन्दा बढी शवको डीएनए नमुना संकलन भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
भदौ ११ गतेदेखि औद्योगिक प्रतिष्ठानमा निर्माण गरी सञ्चालनमा ल्याइएको अस्थायी शव होल्डिङ सेन्टर पनि आजदेखि खाली गरिने भएको छ। त्यस्तै, चितवन उद्योग संघमा आफन्तलाई पहिचानका लागि राखिएको शवको डिस्प्ले पनि आजदेखि बन्द गरिने जनाइएको छ।
‘आज सबै शव माटोमुनि व्यवस्थापन गरेर अस्थायी शव होल्डिङ सेन्टर आजैदेखि खाली गर्ने तयारी गरेका छौँ,’ प्रजिअ अर्यालले भने, ‘शवको पहिचानका लागि राखिएको डिस्प्ले पनि अब प्रहरीको वेबसाइटबाट मात्रै हुने गरी यता रोक्ने तयारी गरेका छौँ।’
भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगल क्षेत्रमा शवलाई जमिनमुनि व्यवस्थापन गरिने भएको हो। व्यवस्थापन गरिने सबै शवको डीएनए नमुना संकलन गरिएको प्रशासनले जनाएको छ।
शवको पहिचान सहज बनाउन प्रत्येक शवमा तारले बाँधेर फलामको नम्बर प्लेट राखिनेछ। त्यस्तै, शव गाडिएको स्थानमाथि पनि सोही नम्बर उल्लेख गरिएको फलामे प्लेटसहितको ढलान गरिएको संरचना राखिने प्रजिअ अर्यालले बताए।
उनका अनुसार डीएनए नमुना, शव र शव गाडिएको स्थान—तीनै ठाउँमा पहिचान खुल्ने गरी नम्बर प्लेट राखिनेछ।
प्रशासनका अनुसार आफन्तले उपलब्ध तस्बिरसँग शवको पहिचान मिलेजस्तो लागेमा थप तस्बिर हेर्न सक्नेछन्। पहिचान पुष्टि भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाइने व्यवस्था गरिएको छ।
शवको पहिचान तथा व्यवस्थापन प्रक्रियालाई व्यवस्थित बनाउन डीएनए नमुना र नम्बरिङ प्रणालीमार्फत अभिलेख सुरक्षित राखिने प्रशासनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij