काठमाडौँ : हालैको भोटेकोशी बाढी, यसको प्रभाव र भावी योजनामा केन्द्रित भएर काठमाडौँमा आइतबार खुला बहस गरिएको छ। विद्यासागर फाउण्डेसनले सम्बन्धित क्षेत्रका विज्ञ, नीति निर्माता सांसदलगायत सरोकारवालाको उपस्थितिमा जलवायु परिवर्तन, विपद् व्यवस्थापन र जलवायु न्यायसम्बन्धी खुला बहस गरेको हो।
कार्यक्रममा पूर्वाधार तथा जलवायु विज्ञ डा. गोविन्दराज पोखरेल, नेपाली सेनाका अवकाश प्राप्त उपरथी एवं अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिका जानकार डा. पूर्णबहादुर सिलवाल, प्रतिनिधिसभा सदस्यसमेत रहेकी पूर्वउपसभामुख इन्दिरा राना मगरलगायत सहभागी थिए ।
कार्यक्रममा बोल्दै पोखरेलले भोटेकोशी बाढीले जलवायु परिवर्तनलाई ध्यानमा राखेर नीति बनाउनुपर्नेमा सचेत गराएको बताए । हालैको बाढी संकेतमात्र भएको र समयमै सचेत नभए यसको असर पछि झनै देखिने उनको भनाइ थियो।
खोला–नदीबाट कति टाढा घर बनाउने, पुल कति उचाइमा बनाउने, कस्तो ठाउँमा बनाउने भन्ने विषयको वैज्ञानिक अध्ययन गरेर कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई उनले सुझाव दिए।
प्रतिनिधिसभा सदस्य रानाले कार्बन उत्सर्जनमा कम योगदान रहेको नेपाल र हिमाली क्षेत्रका जनताले ठुलो क्षति व्यहोर्नुपरेको बताइन्।
नेपाल, भारत र चीनले एकजुट भएर हिमनदी पग्लने र जलवायु न्यायलाई नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो । यो हिमाली क्षेत्रमा रहेका तीन वटै देशको क्षेत्रीय दायित्व हुनुपर्ने उनले बताइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij