Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चाडपर्व सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ : नेपाल प्रहरीले ठूला चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालनमा ल्याएको छ। चाडवर्पमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरीले बुधवारदेखि छठपर्वको भोलिपल्टसम्म लागू हुनेगरी सुरक्षा योजना सञ्चालनमा ल्याएको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले ५० हजारभन्दा बढी प्रहरी परिचालन गरी देशभर सुरक्षा व्यवस्था कडा बनाउन लागेको जानकारी दिए। 

‘बडादशैँ, दीपावली, नेपाल संवत् र छठ पर्वको समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई नागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबारलाई सुरक्षित बनाउन तथा चाडपर्व मनाउन विभिन्न गन्तव्यतर्फ जाने यात्रुसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरी संगठनले आजदेखि लागू भई छठ पर्वको भोलिपल्टसम्म निरन्तर रहने गरी ‘चाडपर्व सुरक्षा योजना २०८३’ शुरु गरेको छ’, उनले भने।

प्रहरीले चोरी, डकैती, जुवातास, सट्टेबाजी, सीमा अपराध, तस्करी, कालोबजारी, डिजिटल ठगी तथा सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । चाडवर्पमा नागरिकको आवागमन सुरक्षित बनाउने, बैंक तथा वित्तीय संस्थासहित बजार क्षेत्रको सुरक्षा गर्ने र विभिन्न गन्तव्यमा जाने यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति दिने उद्देश्यले सुरक्षा योजना लागू गरेको बताए।

प्रहरीले यात्रु तथा सर्वसाधारणको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष तथा हेल्प डेस्क स्थापना गरेको छ। भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा थप १०८ वटा हेल्प डेस्क स्थापना गरी सीमा अपराध, तस्करी तथा अवैध वस्तुको ओसारपसार नियन्त्रणमा विशेष निगरानी बढाएको काफ्लेले जानकारी दिए।

उनकाअनुसार सुरक्षा व्यवस्थापनका लागि काठमाडौँ उपत्यका, प्रदेश तथा जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती, क्विक रेस्पोन्स टिम (क्यूआरटी), एलआरपी, एसआरपी तथा क्रस पेट्रोलिङ सञ्चालन गरिएको छ। मुख्य नाका तथा संवेदनशील क्षेत्रमा संयुक्त चेकजाँच र ट्राफिकसहितको चेकजाँचलाई समेत तीव्र बनाएको उनले जानकारी दिए।

प्रहरीले शंकास्पद वा आपराधिक गतिविधिबारे सूचना भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई विशेष अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट