Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

काठमाडौँ :  रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो।

राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ।

हालसम्म रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ वटा स्थानीय तहका बाढी प्रभावित परिवारले राहत रकम पाइसकेका छन्।

तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र राहत रकम वितरण गरिसक्ने सरकारको तयारी छ।

गत असोज २३ गते बसेको केन्द्रसहित तीन वटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टहरूको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, लाभग्राहीको प्रमाणीकरण तथा शीघ्र पुनर्लाभको काम व्यवस्थित गर्ने निर्णय गरेको थियो।

रेडक्रस लगायत अन्य विकास साझेदारहरूले समेत नगद सहयोग गर्न चाहेकाले सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार राहत वितरण गर्न स्थानीय तह तथा अन्य सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सहायता वितरण गर्दा कुनै पनि परिवार दोहोरो लाभमा नपर्ने र वास्तविक प्रभावित परिवार नछुट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ।

यसैबिच बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि सरकारले काम तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट