चितवन, ११ कात्तिक । बंगालको खाडीमा विकसित भइरहेको ‘अन्विन’ चक्रवातको प्रभावका कारण आगामी बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि धेरै भारी वर्षा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई उद्धृत गर्दै प्रशासनले कात्तिक १२ गतेदेखि १४ गतेसम्म सम्भावित वर्षालाई मध्यनजर गरी आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको हो ।
प्रशासनले नारायणी नदी तथा अन्य नदीहरूको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ ।
त्यस्तै, नदीमा माछा मार्ने, पौडी खेल्ने, दाउरा सङ्कलन गर्नेलगायत जोखिमपूर्ण गतिविधि नगर्न पनि अनुरोध गरिएको छ ।
वर्षा तथा हावाहुरीको समयमा अनावश्यक यात्रा नगर्न, अत्यधिक वर्षा भएका बेला मुग्लिन–नारायणगढ सडकखण्ड, पृथ्वी राजमार्गलगायत सडकमा सवारी आवागमन बन्द हुन सक्ने अवस्थालाई ध्यानमा राखेर मात्र सुरक्षित यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले कात्तिक १२ गतेदेखि मौसम सामान्य नहुँदासम्म धानबाली नकाट्न तथा काटिसकेको धान तत्काल सुरक्षित स्थानमा भित्र्याउने व्यवस्था मिलाउनसमेत अनुरोध गरेको छ ।
बाढीपहिरो तथा अन्य विपद्सम्बन्धी जानकारीका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको हटलाइन ११३८, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।