Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

विपद्का बेला ड्रोन उडानमा लापरबाही नगर्न प्रधानसेनापति सिग्देलको आग्रह

विपद्का बेला ड्रोन उडानमा लापरबाही नगर्न प्रधानसेनापति सिग्देलको आग्रह

काठमाडौँ : प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र (एयरस्पेस) को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग ठोक्किएर अर्को ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम देखिएको छ ।प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताएका छन् ।शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको बताए ।

ड्रोन पाइलट र हेलिकप्टर पाइलटबीच सञ्चार तथा समन्वय भएको अवस्थामा उडान सुरक्षित बनाउन सकिने भए पनि त्यसको अभावमा उद्धार कार्यमा चुनौती थपिएको उनको भनाइ छ । उनले ड्रोन र हेलिकप्टर आपसमा ठोक्किने वा दुईवटा हेलिकप्टरबीच नै दुर्घटना हुन सक्ने जोखिम रहेको उल्लेख गरे । विपद्का बेला प्रभावकारी हवाई क्षेत्र व्यवस्थापन नहुँदा अर्को दुर्घटना निम्तिने त्राससमेत रहेको उनले बताए ।

उनले भने, ‘ड्रोन र हेलिकप्टरबीच उचित सञ्चार तथा हवाई क्षेत्र व्यवस्थापन नहुँदा आपसमा ठोक्किने जोखिम अत्यन्तै उच्च थियो । यसले उद्धार कार्यकै क्रममा अर्को दुर्घटना निम्तिन सक्ने त्रास सिर्जना गरेको थियो । त्यसैले उद्धारका क्रममा प्रभावकारी हवाई समन्वय र एयरस्पेस व्यवस्थापन आवश्यक देखियो ।’

विपद्का समयमा अग्रमोर्चामा खटिने हवाई तथा स्थल सुरक्षा निकायहरूबीच पर्याप्त सञ्चार र समन्वय नहुँदा उद्धार उडानहरू निकै जोखिमपूर्ण बन्दै गएको बैठकमा औँल्याइएको छ । विशेष गरी उद्धार क्षेत्रमा अनुमतिबिना वा जथाभावी उडाइने ड्रोनका कारण हेलिकप्टर चालकहरूले गम्भीर सुरक्षा चुनौती व्यहोर्नुपरेको विषय बैठकमा प्रमुखताका साथ उठेको हो ।

छलफलका क्रममा ड्रोन पाइलट र उद्धारमा संलग्न हेलिकप्टरका पाइलटहरूबीच प्रत्यक्ष सञ्चार सम्पर्क नहुँदा आकाशमै ठोक्किने उच्च जोखिम रहेको उल्लेख गरिएको छ । उद्धार कार्यमा खटिएका बहुसंख्यक हेलिकप्टरहरू एउटै क्षेत्रमा केन्द्रित हुँदा प्रभावकारी एयरस्पेस व्यवस्थापनको अभावले आकाशमै विमान जुधेर उद्धारस्थलमै अर्को ठूलो मानवीय विपद् सिर्जना हुन सक्ने त्रास सुरक्षाकर्मीहरूमा देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट