बुटवल : पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पोखरेलको मृत्यु भएको हो ।
हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी पत्रकार पोखरेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोखरेल रुपन्देहीमा पत्रकारितामा सक्रिय थिए । उनले अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए ।
दुर्घटनापछि प्रहरीले ट्रक, ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु राना र मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij