काठमाडौं : हास्यकलाकार केदार घिमिरे माग्नुबुढाले आज अचानक आफ्नो एक वर्ष पुरानो चलचित्रको व्यापारिक आँकडा सार्वजनिक गरेपछि विभिन्न अर्थ लगाउन थालिएको छ । कुनै विशेष प्रसंगबिना उनले आफ्नो गत वर्ष रिलिज भएको चलचित्र ‘माग्ने राजा’ को आँकडा देखाएका हुन्।यतिबेला हलहरुमा उनका पुराना व्यापारिक साझेदार दीपकराज गिरीको चलचित्र ‘छ माया छपक्कै’ चलिरहेको छ । यो चलचित्रले सोचेजस्तो व्यापार गर्न नसकिरहेका बेला धेरैले माग्नेबुढा सम्झिएका छन् । माग्नेबुढा चलचित्रमा नभएकै कारणले यो चलचित्रमा दर्शकको आकर्षण कम भएको विश्लेषण समेत कतिपयले गरिरहेका छन् ।
दीपकराजले भने चलचित्रमा कमेडी खुराक कम भएको स्वीकारे पनि माग्नेबुढा नभएकैले व्यापारमा असर परेको भने स्वीकारेका छैनन् । हालै प्रकाश सुबेदीसँगको एक अन्तरवार्तामा उनले यसबारे चर्चा गरेका थिए । उनले माग्नेबुढाको नाम नलिइकन उनी नहुँदा आफूलाई दवाव परेको बताए ।दीपकराजले भनेका थिए, ‘प्राविधिक त्रुटिले गर्दा मेरो एकजना हास्यपात्रले सुटिङ हुनुभन्दा २० दिनअघि म भ्याउँदिन भनेको कारणले ममाथि सिर्जनात्मक दवाव भयो ।’
त्यसोभए माग्नेबुढा नभएरै चलचित्रको व्यापार कमजोर भएको हो त भन्ने प्रश्नमा भने उनले इन्कारी जवाफ दिए ।
उनले भने, ‘माग्नेबुढा हुँदैमा हिट वा नहुँदा फ्लप हुने भए माग्ने बुढाका हरेक फिल्म सुपरडुपर हिट भइहाल्थे नि । एउटा मान्छेले फिल्म हिट र फ्लप बनाउन सक्दैन । चलचित्रको त्यो पात्रमा चै माग्ने बुढा खोजियो । त्योभन्दा अगाडि त्यो पात्रमा माग्नेबुढा थिए ।’यो प्रसंगमा कुराकानी हुँदा माग्नेबुढा अभिनित चलचित्र ‘माग्नेराजा’ का दृष्यहरु स्क्रिनमा देखाइएका थिए । यसले गर्दा माग्नेबुढाको ‘माग्नेराजा’ फ्लप भएको थियो भन्ने सन्देश गयो । सम्भवतः यसैको काउन्टरमा माग्नेबुढाले आज स्टाटस लेखेका हुनसक्छन् ।
उनले लखेका छन्, ‘चलचित्र ‘माग्नेराजा’ को ग्रस कलेक्शन ४ करोड ७६ लाख +युट्युब राईट + बिदेश राईट गरी करिब यसकै आसपास थियो । भाद्र ६ गते रिलिज भएको र भाद्र २३ /२४ आन्दोलन भई सबै हल डिस्टर्ब भएको थियो । (जम्मा १६ दिनमात्रै चल्न पाएको थियो) भनि सबैमा जानकारी गराएँ । जय दर्शक ।’
माग्नेबुढाको यो स्टाटसले दीपकराजसँग उनको गम्भीर मनमुटाबको संकेत गरेको छ । ‘छ माया छपक्कै’ मा सुरुमा माग्नेबुढाको महत्वपूर्ण भूमिका थियो । तर उनी चलचित्रको काम छोडेर अमेरिका गएका थिए । उनले पीआरको पर्खाइमा लामो समय अमेरिकामै बिताए । चलचित्र सुटिङमा जाने २० दिनअघि मात्रै आफूले खेल्न नसक्ने जानकारी गराएको दिपकराजको भनाइ छ ।माग्नेबुढा उपलब्ध नभएपछि उनको भूमिकामा निकै काँटछाँट गर्नुपरेको थियो । त्यो भूमिका रविन्द्र झाले निभाएका छन् । तर माग्नेबुढा नहुँदा चलचित्रमा कमेडी खुराक कम भएको छ । यसले चलचित्रको व्यापारमा असर गरेको हुन सक्ने धेरैको बुझाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij