Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

वनमा लुकाइएको भरुवा बन्दुक बरामद

वनमा लुकाइएको भरुवा बन्दुक बरामद

कपिलवस्तु :  कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ । वाणगङ्गा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनको लहरे उकालीमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बन्दुक बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको नौ सदस्यीय टोलीले खोजतलास गरेको थियो ।

प्रहरी टोलीले काठको गोलियाभित्रको खोक्रो भागमा स्याउला र पातले छोपेर लुकाइराखेको अवस्थामा चार नाल भरुवा बन्दुक फेलापारेको उनले जानकारी दिए । प्रहरीले ती बन्दुक बरामद गरी इलाका प्रहरी कार्यालय पिपरामा राखेको छ ।

बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij