रत्ननगर : वर्षाका कारण रत्ननगरमा आयोजना हुन लागेको ‘दोश्रो गैँडा कप वडास्तरीय फुटबल प्रतियोगिता २०८३’ एक दिन पछाडि सरेको छ ।
यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने तय भएको प्रतियोगिता अब कात्तिक १६ गतेदेखि सञ्चालन हुने खेल संयोजक एवं रत्ननगर–६ का वडा सदस्य गोपीकृष्ण विडारीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसममा आएको परिवर्तन र वर्षाका कारण खेल तालिका परिवर्तन गर्नुपरेको हो ।
‘वन तथा वन्यजन्तु संरक्षणसँगै खेलकुदमा युवाहरूको सहभागिता’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
रत्ननगर–७, सिसुवारस्थित प्याराडाइज खेल मैदानमा हुने प्रतियोगिता युवा तथा खेलकुद विकास समिति रत्ननगर–७ को आयोजनामा हुन लागेको हो । प्रतियोगितालाई रत्ननगर नगरपालिकाले अभिभावकत्व प्रदान गरेको छ भने मृगकुञ्ज उपभोक्ता समिति प्रवर्द्धकका रूपमा रहेको छ ।
प्रतियोगिता मेयर कप फुटबलका लागि खेलाडी छनोटको माध्यमसमेत बन्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी तथा सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij