काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मंगलबार बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर हेलिप्याडमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए । ठक्करका कारण हेलिकप्टरमा सवार भारतीय नागरिक बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । उनको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ ।दुर्घटनामा न्युजिल्यान्डका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेलसहित दुई हेलिकप्टरका पाइलट घाइते भएका छन् । घाइते पाइलटमा फिस्टेल एयरका रविन्द्र प्रजापति र डाइनेस्टी एयरका प्रजल केसी रहेका छन् ।घाइते पटेल र फिस्टेल एयरका पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । डाइनेस्टी एयरका पाइलट केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारको व्यवस्था मिलाइएको छ । बिहान पर्यटकीय क्षेत्र खुम्बुमा भएको उक्त दुर्घटनाले हेलिकप्टर उडान तथा अवतरणको सुरक्षामाथि समेत प्रश्न उठाएको छ ।दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ । दुई हेलिकप्टर अवतरण गर्ने क्रममा कसरी एकआपसमा ठोक्किए र दुर्घटनाको प्राविधिक कारण के थियो भन्ने विषय सम्बन्धित निकायको अनुसन्धानपछि खुल्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij