दाङ : दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा ती बन्दुक बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५ खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट पाँच नाल बन्दुक बरामद गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वन र प्रहरी चौकी हाँसिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनबाट एक–एक नाल बन्दुक बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी पुरन्धाराको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट एक नाल, अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले राप्ती गाउँपालिका–१ रौसिङखोला बगर नजिकको झाडीबाट पाँच नाल र अस्थायी प्रहरी पोस्ट गर्तीको टोलीले लमही नगरपालिका–३ स्थित नारायणेश्वर सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका बन्दुकमध्ये १३ नाल चालु अवस्थामा र एक नाल बिग्रिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij