चितवन : चितवनका निर्माण व्यवसायी भिष्म अधिकारी नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको विशेष आमन्त्रित सदस्यमा मनोनित हुनुभएको छ।
नेपाल निर्माण व्यवसायी महासंघले महासंघको विधानको परिच्छेद–७ को दफा २५ (झ) बमोजिम अधिकारीलाई विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको हो। महासंघका अध्यक्ष निकोलस पाण्डेले मनोनयनसम्बन्धी पत्र अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ।
निर्माण व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीले यसअघि निर्माण व्यवसायी संघ चितवनको कार्यसमिति सदस्यका रूपमा एक कार्यकाल काम गरिसक्नुभएको छ। त्यसैगरी, उहाँले संघको महासचिवको जिम्मेवारीसमेत एक कार्यकाल निर्वाह गर्नुभएको थियो।
जिल्ला तहमा रहेर निर्माण व्यवसायीका हकहित, व्यावसायिक समस्या तथा संस्थागत गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएका अधिकारीले अब केन्द्रीय तहबाट व्यवसायीका साझा सवाल उठाउने अवसर प्राप्त भएको बताउनुभयो।
महासंघको केन्द्रीय कार्यसमितिमा रहेर संस्थाका गतिविधि तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय सहभागिता जनाउने उहाँले बताउनुभयो।
चितवनबाट निर्माण व्यवसायीको नेतृत्व गर्दै महासंघको केन्द्रीय संरचनामा पुग्नुभएका अधिकारीको मनोनयनलाई जिल्लाको निर्माण व्यवसाय क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले जिल्लाका निर्माण व्यवसायीमा उत्साह थप्ने अपेक्षा गरिएको छ।
अधिकारी भरतपुरस्थित सेभ इञ्जिनियरिङ कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालकसमेत हुनुहुन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij