काठमाडौं : नेपाल मानव रहित विमान (ड्रोन) संघ ले तिहारको लक्ष्मीपूजाको रात काठमाडौंका विभिन्न संवेदनशील क्षेत्र र हवाई मार्गमा अनुमतिविना जथाभावी ड्रोन उडाइएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले यस्तो गैरकानूनी कार्यले हवाई तथा राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम उत्पन्न गराएको बताएको छ।गृह मन्त्रालयले जारी गरेको ‘ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ र नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा सम्बन्धी प्रचलित प्रावधानको ठाडो उल्लंघन गर्दै लक्ष्मीपूजाको अवसरमा रातिको समयमा ड्रोनहरु उडाइएको संघको भनाइ छ।
आवश्यक स्वीकृति र अनुमति नै नलिई एकैपटक धेरै स्थानमा ड्रोन सञ्चालन गरिएको भन्दै संघले यसलाई गम्भीर लापरवाहीको संज्ञा दिएको छ।संघका अनुसार, लक्ष्मीपूजाको राति नियमित हवाई मार्ग तथा विमान आवतजावत हुने क्षेत्रमा मात्र नभई नेपाली सेनाको मुख्यालय लगायतका अन्य अति सुरक्षा संवेदनशील र प्रतिबन्धित क्षेत्रमा समेत ड्रोनको प्रयोग गरी दृश्य सामग्री खिचिएको पाइएको छ। यसरी रातिको समयमा जथाभावी ड्रोन उडाउँदा हवाई उडानको सुरक्षा, नागरिकको व्यक्तिगत गोपनीयता र समग्र राष्ट्रिय सुरक्षामा नै गम्भीर चुनौती थपिएको संघले औंल्याएको छ।
संघका महासचिव प्रबिन भट्टराईद्वारा जारी विज्ञप्तिमा यस प्रकारको गैरकानूनी गतिविधि नियन्त्रण गर्न र सम्भावित दुर्घटना रोक्न सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र तथा प्रमाणहरू समेत दर्ता गराइएको उल्लेख छ। साथै, आगामी दिनमा यस्ता कार्यलाई निरुत्साहित गर्न, जनचेतना जगाउन र सरोकारवाला निकायहरूलाई थप जिम्मेवार बनाउन संघले सञ्चारमाध्यम तथा आम नागरिकलाई आग्रह समेत गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij