काठमाडौँ : बागमती प्रदेश सरकारले राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) लाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने बाटो खुला गरेसँगै यातायात कार्यालयमा दर्ता प्रक्रिया सुरु भएको छ ।यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौँबाट हालसम्म एउटा कम्पनीमार्फत ५ वटा मोटरसाइकल कालो प्लेटमा दर्ता भएका छन् । उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय (बागमती प्रदेश) ले गत असोज १ गते यातायात व्यवस्था कार्यालय गुर्जुधारालाई ८ बुँदे निर्देशन पठाउँदै दुईपाङ्ग्रे सवारीलाई सार्वजनिक सवारीको रूपमा दर्ता तथा सञ्चालन गर्ने प्रक्रिया स्पष्ट पारेको थियो ।
यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार असोज १ गतेदेखि नै दर्ता खुला गरिए पनि हालसम्म एउटा कम्पनीमार्फत ५ वटा मात्र मोटरसाइकल दर्ता भएका छन् । सूचना अधिकारी शिवाकोटीले सवारी दर्ता प्रक्रियाबारे स्पष्ट पार्दै भने,‘सुरुमा जुनसुकै सवारीसाधन पनि निजी (रातो प्लेट) मै दर्ता हुन्छ । त्यसपछि मापदण्ड पुगेका सवारीलाई कम्पनीमार्फत प्रक्रिया मिलाएर कालो प्लेटमा रूपान्तरण गरिन्छ ।’
उनका अनुसार सवारीधनी व्यक्ति स्वयं कार्यालय पुगेर आफ्नो निजी मोटरसाइकललाई सोझै कालो प्लेट बनाउन पाउने छैनन् । दर्ता हुनका लागि सम्बन्धित राइड सेयरिङ कम्पनीमार्फत नै आउनुपर्ने र सवारीको उमेर (कति वर्ष पुरानो) सम्बन्धी मापदण्डसमेत पूरा भएको हुनुपर्नेछ । धेरै पुराना मोटरसाइकललाई भने सार्वजनिकमा दर्ता गर्न नदिइने कार्यालयले जनाएको छ ।
दर्ता हुन के छ मापदण्ड ?
गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको मागबमोजिम बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयद्वारा जारी निर्देशनपत्रमा दुईपाङ्ग्रे सार्वजनिक सवारी दर्ता तथा सञ्चालनसम्बन्धी कार्यविधि स्पष्ट पारिएको छ, जसअनुसार सार्वजनिक सवारीमा दर्ता हुने दुईपाङ्ग्रे साधनलाई ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ को अनुसूची ६ (खण्ड ग) बमोजिम कालो नम्बर प्लेट र मिटर जडित ट्याक्सीसरह रुट परमिट प्रदान गरिनेछ । यस्ता मोटरसाइकलको प्रदूषण जाँच तथा मापनका लागि नामसारी गर्दा प्रयोग हुँदै आएको विद्यमान विधि र औजार नै प्रयोग गरिने व्यवस्था गरिएको छ ।
त्यसैगरी प्रदेशको आर्थिक ऐनअनुसार साना सवारीसाधनलाई तोकिएबमोजिमको दस्तुर लिएर ‘मझौला तथा साना सवारी परीक्षणसम्बन्धी मापदण्ड, २०७४’ बमोजिम जाँचपास गरिनेछ । पटके इजाजत तथा पञ्जीकरण भइसकेको यातायात सेवामा थप दुईपाङ्ग्रे सवारी थप्दासमेत प्रदेश आर्थिक ऐनको व्यवस्थाअनुसारकै दस्तुर लाग्नेछ ।साथै, यस्ता सवारीसाधनको भाडादर मन्त्रालयले निर्धारण गरेबमोजिम हुने र यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै ‘यातायात व्यवस्थापन कार्यविधि, २०६०’ को बुँदा नं ११.१२ अनुसार अनिवार्य यात्रु बिमा गर्नुपर्ने निर्देशन मन्त्रालयले दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij