चितवन : थारु समुदायको महान चाड माघी (माघे संक्रान्ति) तथा नयाँ वर्षको अवसरमा नेपाली सेनाको श्री नयाँ सबुज गणले माघ १ गते चितवनस्थित गण परिसरमा माघी विशेष सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम मध्य पृतना हेडक्वार्टरका पृतनापति उपरथी विष्णु कुमार खड्काज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। तराई–मधेश समुदायको बाहुल्यता रहेको क्षेत्रमा अवस्थित यस गणले आपसी सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रमको विधिवत शुभारम्भ प्रमुख अतिथि उपरथी खड्काद्वारा थारु संस्कृतिअनुसार चेलीबेटीलाई प्रदान गरिने ‘निश्राउ’ वितरण तथा दीप प्रज्वलन गरी गरिएको थियो।
कार्यक्रममा गणपति प्रमुख सेनानी दिनेश लामाले स्वागत मन्तव्य व्यक्त गर्दै माघी पर्वले सामाजिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा प्रबन्धरथी उपरथी हरेन्द्र पाठक, श्री नं. ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शकमल बानिया, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, गणका पूर्व गणपतिहरू, विभिन्न युनिटका युनिटपतिहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारी, थारु कल्याणकारी समाज चितवनका अध्यक्ष तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सांस्कृतिक साँझमा गणका कलाकारहरूले नेपालको बहुसांस्कृतिक विविधता झल्काउने विभिन्न प्रस्तुति दिएका थिए। कार्यक्रममा थारु समुदायका परम्परागत माघी नृत्य, झुमरा नृत्य, लठ्ठी नाच, सखिया नाच तथा मघौता नाच प्रस्तुत गरिएको थियो। साथै देशभक्तिपूर्ण नृत्य, मगर समुदायको कौडा नृत्य, सुदूरपश्चिमको हुडकेली नृत्य, भोजपुरी नृत्य, एकल सांस्कृतिक गायन, सुगम संगीत तथा हास्य नृत्यले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमका क्रममा ‘लाइभ फुड स्टल’मार्फत मौलिक थारु परिकारहरू प्रस्तुत गरिएको थियो। घोंगीको रस, चिच्चर, ढिग्री, गंगटा, सिपी, हाँसको छोइला, चाकु, तिलौरा, सखरखण्ड, तरुल, तिलको लड्डुलगायतका परिकारहरू राखिएको थियो। साथै राँगा र बंगुरको सेकुवा, मुस्ताङ्गे आलु तथा केराका परिकारहरूले रात्री भोजलाई विविधतापूर्ण बनाएको थियो। कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिसहित सहभागीहरूद्वारा सामूहिक नृत्य प्रस्तुत गरिनुका साथै रात्री भोजसँगै माघी विशेष सांस्कृतिक साँझ सम्पन्न भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij