काठमाडौं– तृतराज दासको अर्धशतक र बलरहरूको प्रभावकारी प्रदर्शनसँगै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा लगातार दोस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो । लगातार दोस्रो हार बेहोरेको पोखरा अझै पहिलो जितको खोजीमा छ ।
यसअघि जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई पराजित गर्दै जितको लय कायम राखेको हो । पहिलो संस्करणको विजेता जनकपुरले यस सिजन आफ्नो दोस्रो जित निकालेको छ ।
तृतराजको पहिलो अर्धशतक
पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि तृतराज दासले ५५ बलमा ६१ रन बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । एनपीएलका तीनवटै संस्करण खेलेका तृतराजको प्रतियोगितामा यो पहिलो अर्धशतक हो ।
तृतराज र मोइन अलीले पहिलो विकेटका लागि पावर प्लेमा ४५ रन जोड्दै जनकपुरलाई राम्रो सुरुवात दिलाएका थिए । मोइन १६ बलमा २१ रन बनाएर सातौँ ओभरमा साकिब अल हसनको बलमा बोल्ड भए । त्यसपछि जनकपुरले नियमित अन्तरालमा विकेट गुमाउँदै गयो ।
साकिबले मोइनसँगै सैफ हसन र कप्तान हरमित सिंहलाई पनि आउट गरे । सैफले १ र हरमितले ९ रन बनाए । साकिबले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।
अनिल साह ९ र जिम्मी निसम ११ रनमा आउट भए । तृतराज १८औँ ओभरमा मेहेदी हसनको बलमा कुशल भुर्तेलबाट क्याच भए । अन्तिमतिर अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे ।
कुशलको प्रयास खेर, जनकपुरका बलर प्रभावशाली
१४८ रनको लक्ष्य पछ्याएको पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । २४ बल सामना गरेका उनले ५ चौका प्रहार गरे । तर अन्य ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा पोखरा लक्ष्यसम्म पुग्न सकेन ।
विपिन आचार्यले २० र किरण ठगुन्नाले १५ रन बनाए । विपिनले १९ बलमा एक चौका प्रहार गर्दा किरणले पाँच बलमा दुई चौका र एक छक्का हिर्काए । विपिन खत्रीले १७ रन जोडे । दिनेश खरेल ३, मेहेदी हसन ८, साकिब अल हसन ९, अर्जुन घर्तीमगर ७, मोहम्मद सैफुद्दिन शून्य र चमिका करुणारत्ने ४ रनमा आउट भए । प्रतीक पोखरेल २ रनमा अविजित रहे ।
जनकपुरका लागि मोइन अलीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए । कप्तान हरमित सिंह र सैफ हसनले २–२ विकेट लिए । हरमितले ४ ओभरमा २० तथा सैफले ३६ रन खर्चिए । जिम्मी निसम र ललितले एक–एक विकेट लिए ।
पोखराका लागि साकिबले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । जनकपुरले ब्याटिङमा बनाएको १४७ रनको योगफललाई बलिङमा जोगाउँदै ९ रनको जित निकालेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij