चितवन : चितवनको रत्ननगर-१० स्थित गोरखा रत्ननगर सम्पर्क समाजले नयाँ वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा संस्थाको नयाँ भित्तेपात्रो (क्यालेन्डर) विमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। २०८२ साल चैत २८ गते शनिबारका दिन रत्ननगर-१० स्थित एकता शिशु निकेतनको सभा हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
समाजका अध्यक्ष वेद प्रसाद पाण्डेको सभापतित्व तथा वरिष्ठ समाजसेवी बलराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन समाजका सचिव सुर्यमणी ढकालले गर्नुभएको थियो भने उपाध्यक्ष युवराज पाण्डेले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बलराम खनाल र विशिष्ट अतिथि तथा समाजका सल्लाहकार समिति संयोजक लक्ष्मी प्रसाद वस्तीले संस्थाको प्रगति र समाजमा यसले पुर्याएको योगदानको प्रशंसा गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो।
यसैगरी, कार्यक्रममा विशेष उपस्थितिको रूपमा रहनुभएका रत्ननगर-१० का वडाध्यक्ष कलाधर पौडेलले शुभकामना मन्तव्य राख्दै वडाको सुरक्षा र विकासबारे महत्त्वपूर्ण जानकारी दिनुभयो। उहाँले हालैको 'जेनजी' आन्दोलनबाट प्रभावित वडाका क्षेत्रहरूमा बिग्रिएका सीसी क्यामेराहरू पुनः जडान गर्ने कार्य सुरु भइसकेको बताउनुभयो। कार्यक्रमकै बीच समाजका कोषाध्यक्ष पूर्णमान श्रेष्ठले भित्तेपात्रो छपाई गर्दा भएको आय-व्ययको विवरण सबैसामु सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष वेद प्रसाद पाण्डेले संस्था स्थापना भएको करिब एक वर्ष पुग्न लागेको र आगामी भदौ महिनामा प्रथम साधारणसभा तथा अधिवेशन हुने जानकारी गराउनुभयो। समाजमा सद्भाव, आत्मीयता, भाइचारा र मेलमिलापको भावना जागृत गराउने उद्देश्यले सहयोगी दाताहरूको आर्थिक सहयोगमा भित्तेपात्रो प्रकाशन गरिएको बताउँदै उहाँले सम्पूर्ण सहयोगी हातहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। अध्यक्ष पाण्डेले हाल समाजमा २०७ जना साधारण सदस्य आबद्ध भइसकेको र इच्छुक व्यक्तिले पाँच हजार रुपैयाँ तिरेर आजीवन सदस्य बन्न सक्ने व्यवस्था रहेको जानकारी दिनुभयो। यसैगरी, साधारण सदस्यहरूले प्रत्येक वर्ष असार मसान्तभित्र एक सय पचास रुपैयाँ तिरेर सदस्यता नवीकरण गर्नुपर्ने नियम रहेको पनि उहाँले प्रस्ट पार्नुभयो।
हाल रत्ननगर-१० मा मुख्य कार्यालय रहेको यस समाजलाई बिस्तारै अन्य वडाहरूमा पनि कमिटी गठन गर्दै समग्र जिल्लाभर जोड्ने संस्थाको भावी लक्ष्य रहेको अध्यक्ष पाण्डेले बताउनुभयो। यसैबीच, कार्यक्रममा सुरुवाती चरणमा प्रमुख अतिथिको रूपमा माननीय कृष्ण प्रसाद खनाललाई आमन्त्रण गरिएको भए तापनि स्वास्थ्यमा समस्या आएका कारण उहाँ उपस्थित हुन नसक्नुभएको जानकारी गराउँदै आयोजक समिति र उपस्थित सबैले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए।