काठमाडौं : एसियन गेम्स पुरुष टी–२० छनोटको फाइनल खेल आज हुँदैछ। सिंगापुरमा जारी प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दैछन्। खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे सुरु हुनेछ।
नेपालले आइतबार ओमानलाई सेमिफाइनलमा ८ विकेटले पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो भने हङकङले मलेसियालाई ६ विकेटले हराएर नेपालसँगको भेट पक्का गरेको हो।
नेपाल र हङकङबीच अहिलेसम्म टी–२० मा १२ खेल हुँदा २ खेल नतिजाविहीन भएका छन् भने दुवै टोलीले ५–५ खेल खेलेका छन्। हङकङविरुद्धको फाइनलमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी खेल खेल्नेछन्। यो उनको अन्तर्राष्ट्रिय करियरको १००औं खेल हुनेछ।
दीपेन्द्रले सन् २०१८ जुलाई २९ मा नेदरल्याण्ड्सविरुद्ध लड्समा पहिलो टी–२० आई खेलेका थिए। १०० खेलको आकडा छुदै गर्दा दीपेन्द्र टिम सदस्य, उपकप्तान हुदै हाल नेपाली टी–२० टिमको कप्तानसमेत बनिसकेका छन्।
उनले ९९ खेलबाट ८५ इनिङमा ब्याटिङ गरेर २ हजार २११ रन लिएका छन्। ७२ इनिङमा बलिङ गरेर उनले ६२ विकेट लिएका छन् एक पटक उनी शून्य रनमा आउट भएका छन्।
टी–२० मा नेपालका लागि २ हजार रनसहित ५० माथिको विकेट लिने दीपेन्द्र पहिलो क्रिकेटर हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij