Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

मनकामनामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा

मनकामनामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा

गोरखा : मनकामना क्षेत्र विकास समिति र शहिद लखन गाउँपालिकाको संयुक्त साझेदारीमा मनकामना मन्दिर क्षेत्रमा आउने भक्तजन तथा दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। आज आयोजित एक कार्यक्रमबीच स्वास्थ्य सहायता कक्षको औपचारिक उद्घाटन गर्दै सेवा शुभारम्भ गरिएको हो। सहायता कक्ष सञ्चालनसँगै मनकामना दर्शनका लागि आउने श्रद्धालु तथा पर्यटकले आकस्मिक स्वास्थ्य समस्या परेमा तत्काल प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।

उद्घाटन कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, वडा नं.२ की वडाध्यक्ष सकुन थापा मगर, वडा नं ३ का वडाध्यक्ष दीपक पाण्डे, वडा नम्बर ४ का वडाध्यक्ष याम बहादुर थापा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ,मनकामना क्षेत्र विकास समितिका अध्यक्ष काजी बाबु श्रेष्ठ, तथा मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचन लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले मनकामना दर्शनका लागि दैनिक रूपमा ठूलो संख्यामा आउने भक्तजनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले आकस्मिक उपचार, प्राथमिक स्वास्थ्य सेवा तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरी सेवा प्रवाहलाई सहज बनाउने विश्वास व्यक्त गरेका थिए।

संयुक्त सहकार्यमा सञ्चालनमा आएको यो स्वास्थ्य सहायता कक्षले मनकामना क्षेत्रको स्वास्थ्य सेवा व्यवस्थापनलाई थप सुदृढ बनाउँदै भक्तजन तथा पर्यटकलाई सुरक्षित र सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट