Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

बीपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी, चीनको करिब ८४ करोड रुपैयाँ सहयोग

बीपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी, चीनको करिब ८४ करोड रुपैयाँ सहयोग

भरतपुर : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक अत्याधुनिक बोनम्यारो (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। चीन सरकारको सहयोगमा नयाँ भवन निर्माण, आवश्यक उपकरण खरिद तथा चिकित्सक र नर्सलाई विशेष तालिम प्रदान गर्ने परियोजना अघि बढाइएको अस्पतालले जनाएको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार केही दिनअघि चिनियाँ प्राविधिक टोली दुई सातासम्म अस्पतालमा बसेर पूर्वाधार निर्माण, प्राविधिक व्यवस्थापन तथा आवश्यक तयारीबारे अध्ययन तथा छलफल गरेको थियो। टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना तथा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसँग समेत समन्वय गरेको थियो।

उनका अनुसार परियोजनाका लागि नेपाल सरकारसँग आवश्यक थप सम्झौता प्रक्रिया अघि बढाइनेछ। अस्पतालको अन्तरङ्ग भवनअगाडि तीनतले नयाँ भवन निर्माण गरिनेछ भने चिनियाँ पक्षले सन् २०२६ भित्रै निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ।

चीन सरकारले यस परियोजनामा करिब ३७ मिलियन चिनियाँ युआन (नेपाली रुपैयाँ करिब ८४ करोड) लगानी गर्नेछ। परियोजनाअन्तर्गत भवन निर्माण, अत्याधुनिक उपकरण जडान तथा आवश्यक जनशक्तिको क्षमता अभिवृद्धिको सम्पूर्ण व्यवस्थापन चीन सरकारले गर्नेछ।

अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार नेपाल सरकार र चीनको चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी (CIDCA) बीच यस परियोजनासम्बन्धी सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ।

पाँच शय्याको विशेष बोनम्यारो युनिट

अस्पतालमा पाँच शय्याको विशेष बोनम्यारो प्रत्यारोपण युनिट स्थापना गरिनेछ। प्रारम्भमा पुरानो भवनबाट सेवा सञ्चालन गर्ने योजना रहे पनि आवश्यक पूर्वाधार नपुग्ने निष्कर्षपछि नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको हो। निर्माणस्थलको माटो परीक्षणलगायत प्रारम्भिक प्राविधिक काम यसअघि नै सम्पन्न भइसकेको अस्पतालले जनाएको छ।

चिकित्सक र नर्स चीनमा तालिमरत

बोनम्यारो प्रत्यारोपण सेवाका लागि आवश्यक दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले हाल अस्पतालका तीन जना चिकित्सक तथा नर्स चीनमा विशेष तालिम लिइरहेका छन्। यसअघि तीन जना स्वास्थ्यकर्मीले ६ महिनाको र पाँच जनाले दुई साताको तालिम पूरा गरिसकेका छन्। आवश्यक थप तालिमसमेत चीन सरकारको सहयोगमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।

निर्माण कार्य सुरु भएको करिब डेढ वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

बोनम्यारो प्रत्यारोपण किन आवश्यक?

बोनम्यारो शरीरका फ्ल्याट हड्डीभित्र रहेको नरम ऊतक हो, जहाँ रातो रक्तकोष (RBC), सेतो रक्तकोष (WBC)प्लेटलेट्स उत्पादन हुन्छन्। एप्लास्टिक एनिमिया, रक्त क्यान्सर तथा बोनम्यारोसँग सम्बन्धित अन्य गम्भीर रोगका कारण यसको कार्य प्रभावित हुँदा बोनम्यारो प्रत्यारोपण आवश्यक पर्न सक्छ।

बोनम्यारो प्रत्यारोपणमा ठूलो शल्यक्रिया गर्नुपर्दैन। सुईमार्फत बोनम्यारो वा स्टेम सेल संकलन गरी बिरामीमा प्रत्यारोपण गर्ने प्रक्रिया अपनाइन्छ।

विदेश जानुपर्ने बाध्यता हट्ने अपेक्षा

अस्पतालका अनुसार नेपालमा हालसम्म अत्याधुनिक बोनम्यारो प्रत्यारोपण सेवा उपलब्ध नभएकाले धेरै बिरामी उपचारका लागि विदेश जान बाध्य छन्। सेवा सञ्चालनमा आएपछि नेपाली बिरामीले स्वदेशमै तुलनात्मक रूपमा कम खर्चमा उच्चस्तरीय उपचार पाउने अपेक्षा गरिएको छ।

उल्लेखनीय रूपमा, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल २०५१ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो। स्थापना कालदेखि नै चिनियाँ चिकित्सकले यहाँ उपचार सेवामा सहयोग गर्दै आएका छन्। हाल अस्पतालमा नेपालका साथै भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट