चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–१० किरनटारमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। विशेषगरी विपन्न चेपाङ तथा तामाङ समुदायलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।
ग्रीन सोसाइटी नेपाल, सौराहा चितवनको आयोजनामा, शान्ति सेवा गृह तिलगंगा काठमाडौंको प्राविधिक सहयोग तथा राप्ती नगरपालिका–१० को सह–आयोजनामा राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा शिविर सञ्चालन गरिएको हो। ग्रीन सोसाइटी पब्लिक स्कुल चितवनले समेत शिविरमा सहयोगी संस्थाका रूपमा भूमिका निर्वाह गरेको थियो।
शिविरमा सुगर तथा रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच, दन्त उपचार, फिजियोथेरापी, बालरोग तथा स्त्रीरोगसम्बन्धी सेवा, रक्त परीक्षण, ल्याब सेवा र एक्स–रे लगायतका स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइएको थियो। स्वास्थ्य समस्या भए पनि आर्थिक अभाव तथा अस्पतालसम्म सहज पहुँच नहुँदा उपचारबाट वञ्चित स्थानीयलाई घरआँगनमै स्वास्थ्य परीक्षणको अवसर प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको कार्यक्रम संयोजक श्रीलाल परियारले बताउनुभयो।परियारका अनुसार काठमाडौंसहित विभिन्न स्थानबाट आएका करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गरेको थियो। शिविरमा उपचारसँगै आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
त्यसैगरी सेवाग्राहीलाई दन्तमञ्जन र ब्रस, महिलालाई सेनिटरी प्याड तथा बालबालिकालाई लिटोसमेत वितरण गरिएको थियो। दुर्गम बस्तीका नागरिकलाई आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको शान्ति सेवा गृह तिलगंगा काठमाडौंका व्यवस्थापक बिजेन्द्र कुँवरले बताउनुभयो। कुँवरका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गराउनेमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी थियो। राप्ती तथा कालिका नगरपालिकाका दुर्गम क्षेत्रका विपन्न नागरिकलाई अस्पतालसम्म पुगेर नियमित स्वास्थ्य परीक्षण गराउन कठिन हुने भएकाले यस्ता शिविरले उनीहरूलाई प्रत्यक्ष राहत पुर्याउने उहाँको भनाइ छ।
“यहाँ स्वास्थ्य जाँच गराउन आउनेमध्ये धेरैजसो महिला, बालबालिका र ज्येष्ठ नागरिक हुनुहुन्छ,” कुँवरले भन्नुभयो, “दुर्गम क्षेत्रका विपन्न नागरिकको अस्पतालसम्म सहज पहुँच नहुने भएकाले स्थानीयस्तरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरेका हौं।”
कार्यक्रममा सामाजिक अभियन्ता केशव आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो।
स्थानीयवासीले घरनजिकै विभिन्न रोगको परीक्षण, चिकित्सकीय परामर्श तथा औषधि प्राप्त गर्न पाउँदा आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्। आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने परिवारका लागि शिविर निकै उपयोगी भएको उनीहरूको भनाइ छ।
यसअघि शनिबार कालिका नगरपालिकामा सञ्चालन गरिएको यस्तै निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय २८ जनाले स्वास्थ्य सेवा लिएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij