काठमाडौं : शुक्रबार राति स्थानीय व्यक्तिले तोडफोड गरेपछि कालीकोटको पलाँता अस्पताल अहिले बन्द अवस्थामा रहेको छ । अस्पताल अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । अस्पतालका प्रशासन प्रमुख जन्मऋषि न्यौपानेका अनुसार अस्पताल लथालिंग भएकाले खोले पनि तत्काल बिरामीलाई सेवा दिन सक्ने अवस्था छैन । पलाँता गाउँपालिका वडा–९ थिर्पुमा रहेको पलाँता अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर रइन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो आक्रमण भएको थियो । त्यसै दिन राति फेरि स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण र अस्पताल तोडफोड गरेका थिए ।
तोडफोडबाट अस्पतालमा ठूलो क्षति पुगेको छ । घटनापछि पालिकाको टोली, इलकाका प्रहरी कार्यालय रास्कोटको प्रहरी टोली पुगेर अस्पतालको निरीक्षण गरेका थिए । कति क्षति भयो भन्ने यकीन विवरण निकाल्न नसकिएको अस्पताल प्रशासन प्रमुख न्यौपालेले बताए । न्यौपानेका अनुसार अहिलेसम्म मेडिकल उपकर तथा अन्य गरी ३० वटा सामानमा क्षति पुगेको यकीन गरिएको छ । सबैभन्दा बढी भद्रगोल फार्मेसीमा रहेको उनले बताए । ६ वटा र्याकमा औषधि राखिएको थियो । त्यो सबै ढालिएको छ । फार्मेसीमा भर्खरै मात्रै ८ लाख भन्दा बढीको औषधि थपिएको थियो । थुप्रै औषधि नष्ट भएका छन् । काठका र्याकहरू भाँच्चिएका छन् ।
केही मेडिकल उपकरण, फ्रिज र प्रिन्टर फुटाइएको छ । झ्याल, ढोका पनि फुटाइएको छ । पार्टेसन गरेका भागहरू भत्काएर ध्वस्त बनाइएको छ । तोडफोडबाट धेरै कुर्सीहरू काम नै नलाग्ने गरी क्षति भएका छन् । झ्यालका पर्दाहरू च्यातिएको छ । अस्पतालको ल्याब, सुरक्षित मातृत्व कोठा, इमर्जेन्सी, एक्सरे कोठा भने छुट्टै भवनमा भएकाले सुरक्षित रहेको न्यौपानेले जानकारी दिए ।
शुक्रबार राति तोडफोड हुँदा अस्पतालमा २ जना बिरामी थिए । केही बेर अघि मात्रै आएका एक बिरामी त्यो अवस्था देखेपछि अस्पतालबाट निस्किएका थिए । केहीदिनदेखि अस्पतालमै रही उपचार गराइरहेका एक बिरामीलाई शनिबार बिहान डिस्चार्ज गरी छिमेकी पालिकाको अस्पतालमा पठाइएको डा.अलीले जानकारी दिए । डा.रइनसहितको टोली शनिबार दिउँसो नै जिल्ला सदरमुकाम मान्मा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पालिकाका प्रतिनिधिसहित छलफल भएको थियो । सबै पक्षसँग छलफल गरी अस्पताल खुलाउने प्रयास भइरहेको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए ।
‘हामीले सक्दो प्रयास गरिरहेका छौँ, अस्पतालका प्रशासन प्रमुखसँग पनि कुरा गर्यौ’ स्थानीय जनप्रतिनिधिसँग पनि छलफल भएको छ’ शर्माले भने, ‘खोल्न उहाँहरू पनि सकारात्मक हुनुहुन्छ ।’ कुटपिट तथा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय सुशील बम, ३५ वर्षीया मैना खाँड बम, ३० वर्षीय तपेन्द्र बम र एक १४ वर्षीय नाबालक रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सहायक प्रजिअ शर्माले जानकारी दिए । शर्माका अनुसार १५–१६ लाख भन्दा बढीको क्षति भएको अनुमान गरिए सबै औषधि र मेडिकल उपकरण तथा साम्रगीको प्राविधिक जाँच पछि मात्रै क्षतिको मूल्यांकन हुनेछ ।
डाक्टर नफर्कने
शुक्रबार आक्रमणको सामाना गरेका मेडिकल अफिसर डा.अली हैदर रइन अब अस्पताल नफर्किने भएका छन् । अहिले जिल्ला सदरमुकाम मान्मामा रहेका डा.अली भोलि आफ्नो महोत्तरी फर्कने तयारीमा छन् । ‘त्यस्तो भएपछि अब फेरि त्यो ठाउँमा कसरी सेवा दिन जानु’ अलीले भने, ‘भोलि यतैबाट घर फर्किँदैछु । उनी १६ महिनाअघि करार नियुक्ति लिएर पलाँता अस्पतालमा सेवा दिन पुगेका थिए ।
शुक्रबार राति नै जागिर छाड्ने मनस्थितिमा पुगेको उनले बताए । ‘अस्ति त त्यहाँबाट सुरक्षित निस्कन पाए मात्रै पनि हुँन्थ्यो भन्ने भइरहेको थियो, अब फेरि कहाँ फर्किएर जानु त्यो ठाउँमा’ डा.अलीले भने । दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा शनिबार नै उजुरी दर्ता गराएको उनले जानकारी दिए । उजुरीका आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइन् सहायक प्रजिअ शर्माले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij