साङ्घाई: शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ आइतबार साँझ तटमा ठोक्किएपछि साङ्घाईसहित पूर्वी चीनका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
मौसम पूर्वानुमान अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार बेलुका ५:३० बजे जिजियाङ प्रान्तको युहुआनमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी ठोक्किएको थियो।
त्यसको करिब एक घण्टतापछि आँधी दोस्रो पटक वेन्झाउ सहरमा पुगेको थियो। आँधीका कारण यस क्षेत्रको यातायात सेवा ठप्प भएको छ। साङ्घाईमा मात्रै १,४०० भन्दा बढी उडानहरू रद्द गरिएका छन्।
चिनियाँ अधिकारीहरूले यसअघि डल्फिन आँधीलाई लिएर सबैभन्दा उच्च तहको रातो चेतावनी जारी गरेका थिए। सोमबार बिहान भने यसलाई घटाएर ट्रपिकल स्टर्ममा राखिएको छ।
आँधी थप भित्री भागतर्फ अघि बढिरहेको छ। अधिकारीहरूले बुधबारसम्म ठुलो वर्षा, भीषण बाढी र पहिरोको जोखिम कायमै रहेको चेतावनी दिएका छन्। सोमबार सान्डोङ, हेनान, हुबेई, एन्हुई, जियाङ्सु, जिजियाङ प्रान्त र साङ्घाई सहरमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
स्थानीय सरकारहरूले मानिसहरूलाई घरबाहिरका गतिविधि नगर्न आग्रह गरेका छन्। डिज्नील्याण्ड र लेगोल्याण्डका केही भागहरू साथै साङ्घाईको द बन्डका अवलोकन स्थलहरू लगायत धेरै मुख्य पर्यटकीय स्थलहरू बन्द गरिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij