Logo

Aug 10 2026 | २०८३, श्रावण २५गते

पलाँता अस्पतालमा कुटिएकी नर्स भन्छिन् : फर्किने अवस्था छैन, त्रासमा कसरी काम गर्ने ?

पलाँता अस्पतालमा कुटिएकी नर्स भन्छिन् : फर्किने अवस्था छैन, त्रासमा कसरी काम गर्ने ?

नागरिकको स्वास्थ्य रक्षाका लागि दूरदराजका दुर्गम बस्तीहरूमा पुगेर अहोरात्र खटिनु हामी स्वास्थ्यकर्मीको प्राथमिक दायित्व हो । कालिकोटको विकट क्षेत्रमा रहेको पलाँता अस्पतालमा सेवा दिन पाउँदा म सधैँ आफ्नो पेसाप्रति समर्पित र गर्वित थिएँ । तर, गएको शुक्रबार दिउँसो अस्पताल परिसरमै म र मेरा सहकर्मीहरूमाथि जुन अमानवीय, बर्बर र हिंसात्मक घटना घट्यो, त्यसले मलाई शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि क्षत विक्षत बनाएको छ ।

शुक्रबार दिउँसोको समय थियो । म, डाक्टरसाब र अन्य सहकर्मीहरू अफिसमै थियौँ । ओपीडी सेवा निरन्तर सञ्चालन भइरहेको थियो । बाजुराबाट दुःख कष्ट सहेर आएका बिरामी र स्थानीय पलाँताकै गरी हामी बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारमा व्यस्त थियौँ ।

तर, अस्पतालको ओपीडीबाहिर बिरामीहरू पालो पर्खिने कुर्सीमा केही किशोरहरू महिनौँदेखि सधैँजसो जम्मा भएर मोबाइलमा गेम खेल्ने र होहल्ला गर्ने गर्थे । त्यस दिन पनि उनीहरू ओपीडीबाहिर कुर्सीमा बसेर गेम खेलिरहेका थिए, जसले गर्दा भित्र बिरामी जाँच्न र उनीहरूका समस्या सुन्न निकै कठिन भइरहेको थियो । हाम्रा सुरक्षा गार्डले सुरुमा उनीहरूलाई नम्र भई सम्झाउनुभयो, ‘बाबुहरू, यहाँ बिरामीहरू हुनुहुन्छ, भित्र डिस्टर्ब भइरहेको छ, यहाँ गेम नखेलिदेऊ ।’ तर उहाँको कुरालाई उनीहरूले टेर्दै टेरेनन् ।

सुरक्षा गार्डको कुरा नटेरेपछि डाक्टरसाब र म आफैँ बाहिर निस्कियौँ । हामीले उनीहरूलाई अति नै आदरका साथ भन्यौँ, ‘बाबु, यसरी गेम नखेल न । खेल्ने नै भए बाहिर गएर साउन्ड सानो बनाएर खेल । यहाँ हामीलाई काम गर्न र बिरामी हेर्न डिस्टर्ब भइरहेछ ।’ हाम्रो आग्रहपछि ती किशोरहरू उठे र अस्पतालको मुख्य गेटभन्दा बाहिर गए ।

हामीले सोच्यौँ स्थिति शान्त भयो । तर केही मिनेटमै अवस्था अनपेक्षित र भयानक बन्यो । ती किशोरहरूको घर अस्पताल नजिकै रहेछ । तीमध्ये एक किशोरकी आमा बाहिरबाट गालीगालौज गर्दै, आक्रोशमा कुदेर अस्पताल परिसरतिर आइन् । उनले बाहिर रहेका ३–४ जना केटाहरूलाई एक एक गरी हात समात्दै तानेर पुनः बिरामीहरू बस्ने कुर्सीमा ल्याएर राखिन् र चिच्याउँदै भनिन्, ‘अनि तिमीहरू यहीँ बसेर गेम खेल ! कसैको बाउको सम्पत्ति होइन, यो सरकारी अस्पताल हो । यो जग्गा के तेरो बाउले दिएको जग्गा हो र ? तिमीहरूले यहाँ खेल्न पाउनु तिमीहरूको अधिकार हो ।’

हामीले पुनः उनलाई सम्झाउने प्रयास गर्‍यौँ, ‘हामी ओपीडी सेवा चलाइरहेका छौँ, टाढा टाढा बाजुरादेखि बिरामीहरू आइरहेका छन् । यसरी होहल्ला हुँदा हामीलाई गाह्रो हुन्छ, केटाकेटीलाई बाहिर गएर खेल्न लगाउनुस् न ।’
तर उहाँ झन् उग्र बन्नुभयो, ‘होइन, मेरो केटाकेटी यहीँ खेल्छ, बाहिर गर्मी हुन्छ ।’ जब मैले ‘आफ्नो बच्चालाई नखेल भन्नु त कहाँ छ कहाँ, गाउँभरिका केटाहरू जम्मा पारेर ल्याएर अस्पतालमै डिस्टर्ब गर्न त भएन नि !’ भनेर प्रतिवाद गरेँ, तब उहाँ सीधा हिंसामा उत्रिनुभयो ।

उहाँले मलाई धम्क्याउँदै भन्नुभयो, ‘तँ धेरै नबोल, तेरो टाउको फुटाइदिन्छु ।’ र, भुइँबाट ढुङ्गा समात्नुभयो । मैले “मैले किन टाउको फुटाउने ? तपाईंको विचारै छ भने फुटाउनुस् न त !’ मात्र के भनेकी थिएँ, उहाँ सिधै हस्पिटलको मुख्य गेटभित्रै छिरेर ममाथि झम्टिनुभयो र मेरो कपाल लुछ्नुभयो । उहाँले मेरो कपालमा समातेर भुइँभरि तानेर घिसार्नुभयो । प्लास्टर गरिएको भुइँमा मलाई नराम्ररी घिसारियो । मेरो टाउको भुत्त्याइँदा र घिसारिँदा म होसै नभएको अवस्थामा पुगेकी थिएँ । मलाई कसले तान्यो, कसले के गर्‍यो, त्यो अवस्थामा मलाई केही थाहै भएन ।

मलाई त्यसरी बर्बरतापूर्वक पिटिएको र घिसारिएको देखेर हाम्रा सुरक्षा गार्ड र डाक्टरसाब मलाई छुटाउन र बचाउन आउनुभयो । डाक्टरसाबले मलाई बचाउन तानिरहनुभएको थियो । त्यही छुटाउने क्रममा ती महिलाका छोरा (किशोर) ले डाक्टरसाबको बायाँपट्टिको टाउकामा सीधा दुई मुक्का हानेर प्रहार गर्‍यो ।

त्यसपछि धकेलाधकेल भयो । हाम्रा अन्य स्टाफहरूले मलाई उठाएर भित्र लैजानुभयो । त्यत्तिकैमा ती महिलाका श्रीमान्–जो आफैँ स्वास्थ्यकर्मी हुन्–घरबाट दौडिँदै आए । उहाँले बाहिरबाट एउटा ठुलो ढुङ्गा बोकेर ल्याउनुभएको थियो । उहाँले चिच्याउँदै भन्नुभयो, ‘कसले के गर्‍यो भन् त ? सिङ्गल सिङ्गल लड्ने हो ? किन निहुँ खोजेको ? किन केटाकेटीले गेम खेल्न पाउँदैन ?’ उहाँ हामीमाथि ढुङ्गा हानेर सांघातिक हमला गर्न अघि बढ्नुभयो । तर भाग्यवश, हाम्रा सहकर्मीहरूले मलाई भित्र छिराएर बाहिरबाट गेट लगाइसकेका थिए । गेट बन्द भएकै कारण उहाँले ढुङ्गाले हान्न पाउनुभएन ।

लगत्तै इलाका प्रहरी कार्यालय थिर्पु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेपछि मात्रै हाम्रो ज्यान जोगिन सक्यो । आक्रमणबाट मेरो मेरुदण्डमा गम्भीर चोट लागेको छ । म अहिले यताउता हिँडडुल गर्न, बस्न वा उभिन समेत सक्ने अवस्थामा छैन । टाउको भुत्त्याएर घिसारिएकाले टाउको असैह्य दुखिरहेको छ र निरन्तर रिङ्गटा लागिरहेको छ । म अहिले कालिकोट अस्पतालमा उपचाररत छु । औषधि खाइरहेकी छु, तर स्वास्थ्यमा खासै सुधार आएको छैन । मलाई हिँडडुल गर्न साह्रै गाह्रो हुँदाहुँदै पनि जाहेरी प्रक्रियाका लागि बल्लबल्ल टेम्पोमा बसेर मान्ठिचौरसम्म आइपुगेकी छु । दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गर्ने र थप कानुनी प्रक्रिया अगाडि बढाउने प्रयासमा छौँ ।

यो घटनापछि पलाँता अस्पतालमा तोडफोड भएको छ, त्यहाँको वातावरण पूर्णतः अस्तव्यस्त छ । अस्पतालमा कार्यरत ४ जना नर्स (मलगायत) र ३ जना अनमी गरी हामी स्वास्थ्यकर्मीहरूको ज्यान प्रत्यक्ष जोखिममा छ । सहकर्मीहरू अहिले पनि डर र त्रासका बीचमा हुनुहुन्छ । अस्पतालको सेवा बन्दप्रायः छ । यस्तो त्रासमय वातावरणमा कसरी काममा फर्किने ?

हामीलाई अहिले सबैभन्दा बढी आवश्यकता भनेको न्यायको हो । अस्पताल परिसरभित्रै, बिरामीको सेवा गरिरहेको अवस्थामा स्वास्थ्यकर्मीमाथि यसरी जाइलाग्ने र कुटपिट गर्ने अपराधीहरूमाथि कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

म नेपाल नर्सिङ सङ्घ, नेपाल चिकित्सक सङ्घ, मानवअधिकारकर्मी, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग अपिल गर्दछु – हामी पीडित स्वास्थ्यकर्मीको पक्षमा बोलिदिनुहोस्, हामीलाई साथ र सहयोग दिनुहोस् । जबसम्म कार्यस्थलमा सुरक्षा र न्यायको पूर्ण ग्यारेन्टी हुँदैन, तबसम्म हामी कसरी निर्धक्क भएर बिरामीको सेवामा खटिन सक्छौँ ?

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट